• ११ मंसिर २०८१, मङ्गलबार

भाँडा माझ्दै पढेर स्थायी शिक्षक

blog

मावि तह अङ्ग्रेजी शिक्षकको स्थायी नियुक्तिपत्र लिनुहुँदै पदम विश्वकर्मा ।

गोकर्ण दयाल

बैतडी, मङ्सिर ११ गते । 

‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल,

सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’

घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये एक पदम विश्वकर्मा हुनुहुन्छ । उहाँ भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर नेपालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरी माध्यमिक तहको अङ्ग्रेजी शिक्षक बन्न सफल हुनुभएको छ । 

भारतमा मजदुरी गरेर पढाइ गर्नुभएका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदम विश्वकर्मा मावि तहको स्थायी शिक्षक भएर अङ्ग्रेजी पढाउन बैतडी आइपुग्नुभएको छ । उहाँको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ ।  

बुसर्ट, खैरो पाइन्ट र कालो उनीको टोपीमा शिक्षा विकास तथा समन्वय एकाइ बैतडीमा भेटिनु भएका पदम नियुक्तिपत्र बुझ्ने बेला विगत सम्झेर भावुक बन्नुभयो । “यो खुसी बुवाले देख्न पाउनुभएन,” पदमले भन्नुभयो, “मिर्गौलाको रोग लागेर बुवा एक वर्षअघि बित्नुभयो । उपचार गर्ने खर्च भएको भए सायद बाच्नुहुन्थ्यो । ४८ वर्षकै उमेरमा बुवाको निधन भयो ।” 

यी सबै सफलताका पछाडि बुवाको योगदान र कहालीलाग्दो सङ्घर्षपूर्ण विगत रहेको पदमले बताउनुभयो । गरिबीले खानलगाउन नपाएपछि उहाँका पिता दिलु कामी सुदूरपश्चिमबाट भारतको मुम्बई पुग्नुभयो । २०६२ सालमा बुवासँगै नौ वर्षका पदम पनि मुम्बई पुग्नुभयो । बुवासँगै होटलमा भाँडा माझ्ने काममा पदम लाग्नुभयो  । मुम्बईमा पनि स्कुल रहेछ भनेपछि बुवाको मन पग्लियो । पदमले मुम्बईको सेन्ट जुड्स विद्यालयमा कक्षा ४ मा पढ्ने मौका पाउनुभयो ।  “भर्ना भएको त्यो स्कुल नाम मात्रको थियो,” पदमले सुनाउनुभयो, “कक्षा ३ र ४ मा जम्मा तीन जना विद्यार्थी थियौँ । त्यहाँ जेनतेन कक्षा ४ सम्म पढेँ । त्यसपछि अलिकति राम्रो स्कुल भनेर बुवाले द डनबस्को हाइस्कुलमा भर्ना गरिदिनुभयो । कक्षा ५ र ६ को पढाइ यहीँबाट सकेँ ।” 

पदमले अगाडि भन्नुभयो, “बुवा राति चौकीदारी गर्नुहुन्थ्यो । दिउँसो गाडी धुने, होटलमा भाँडा माझ्ने अनि मलाई पढाउनुहुन्थ्यो । मैले पनि बुवालाई काममा सघाउँथे । घरमा पनि खर्च पठाउनुपथ्र्यो । दुई भाइ, एक बहिनी र आमा पनि बुवाकै कमाइले बाँचेका थिए ।” 

तीन वर्ष स्कुल जान पाइनँ  

स्कुल पढ्न बुवाको कमाइले नपुगेपछि कक्षा ७, ८ र ९ मा विद्यालय जान नपाएको पदमले बताउनुभयो । तीन वर्षसम्म स्वअध्ययन गरेर बुवासँगै चौकीदारी गर्ने, गाडी धुने, भारी बोक्ने जस्ता काम गरेर घरमा खर्च पठाउने काम गरेको उहाँले बताउनुभयो ।  सङ्घर्षको कथा सुनाउँदै उहाँले भन्नुभयो, “पढाइ छाडेर मुम्बईमा तीन वर्ष काम गर्दा अलिकति पैसा जम्मा गरेको थिएँ । एसएलसीको तयारी गर्न कक्षा १० का किताब किनेर प्राइभेट फर्म भरेँ । परीक्षामा सहभागी हुन पाएपछि सन् २००९ मा ८५.२७ प्रतिशत नतिजा ल्याएर कक्षा १० उत्तीर्ण गरेँ ।”  नतिजा राम्रो देखेपछि खुसी हुनुभएका बुवाले मुम्बईस्थित केपिबी हिन्दुजा कलेजमा भर्ना गर्न सुझाव दिनुभएपछि दुई वर्ष निरन्तर क्याम्पस पढ्नुभयो । निरन्तर अध्ययन गर्न पाएपछि उहाँले कक्षा १२ को परीक्षामा ७७.८३  प्रतिशत नतिजा हासिल गर्नुभयो । 

उच्च शिक्षामा फेरि अवरोध

भारतमा कक्षा १२ उत्तीर्ण गरेपछि माथिल्लो शिक्षा आर्जन गर्न पुनः आर्थिक समस्या हुँदा फेरि सडकमै फर्केर विभिन्न होटलमा ‘वेटर’ को काममा पदम लाग्नु्भयो । 

उहाँले भन्नुभयो, “यो २०६७ सालको कुरा थियो । यो बिचमा घर आएँ । विवाह पनि गरेँ । गाउँमा कुनै रोजगारी थिएन, पुनः मुम्बई हिँडेँ । चार वर्ष म निकै बिग्रिएँ । क्रिकेटमा सट्टाबाजी लगाउन थालेपछि म डुबेँ । कहिलेकाहीँ राम्रो पैसा पनि आउँथ्यो ।  दुई वर्षसम्म म घरपरिवारसँग सम्पर्कविहीन जस्तै भएँ । त्यसपछि बुबाले मुम्बई छाड्न कर गरेपछि नेपाल फर्किएँ ।” 

डोटी क्याम्पस भर्ना   

गाउँ फर्केर २०७४ सालमा पदम डोटी क्याम्पस भर्ना हुनुभयो । अङ्ग्रेजी मूल विषय लिई २०७९ सालमा उहाँले डोटी बहुमुखी क्याम्पसबाट ५८.९५ प्रतिशत नतिजा ल्याएर बिएड पूरा गर्नुभयो । यो बिचमा पदमकी एक बहिनीको बिहे पनि भयो । दुई जना भाइमध्ये दशरथ विश्वकर्माले कक्षा ७ को पढाइ छाडेर भारत जानुभयो । अर्को भाइ अशोकले पनि कक्षा ८ उत्तीर्ण गरेर उही कालापहाड रोज्नुभयो ।  “जीवनमा नसोचेको कुरा पनि हुँदो रहेछ,” पदमले भन्नुभयो, “दलित समुदायका मानिसलाई हातमुख जोर्नै धौधौ हुँदा आफ्ना भाइ जस्ता अरूले पनि यसरी नै विद्यालय छाडेर हिँडेको देखेपछि मैले शिक्षक बन्ने अठोट गरेँ ।” यही अठोट लिएर २०८० सालमा शिक्षक सेवा आयोगले लिएको मावि लाइसेन्सको परीक्षा उत्तीर्ण गरेर २०८१ सालमा खुलेको शिक्षक सेवा आयोगको परीक्षामा मावि अङ्ग्रेजी विषयको स्थायी शिक्षक बन्न सफल भएको पदमले बताउनुभयो ।