• २६ पुस २०८१, शुक्रबार

पुँजीगत खर्च बढाउन लागेका छौँ : सञ्चारमन्त्री गुरुङ

blog

कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ।

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ११ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोजगारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामर्थ्य र प्रभावकारिता बढाउन आवश्यक कदम चालिने उल्लेख गर्नुभएको छ। 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले विकास, निर्माणमा कठिनाइ देखिएका ठाउँमा सार्वजनिक खरिद ऐन, वन ऐन, विद्युत् ऐन लगायतका ऐनलाई आवश्यक संशोधन गरिने बताउनुभयो।

नेकपा (एमाले) गण्डकीले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले १८ खर्बको बजेटमा तीन खर्ब हाराहारी मात्र विकासमा खर्च गर्नु चिन्ताको विषय भएको औँल्याउनुभयो। “विकास खर्च बढे धेरैले रोजगारीका अवसर पाउँछन्, गरिबी घट्छ। सबै युवाले काम पाउने वातावरण बन्छ।” 

भौतिक पूर्वाधारको विकास तथा पुँजीगत बढाएर रोजगारी बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो। मन्त्री गुरुङले उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गरी युवा देशमा बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। “सबै क्षेत्र बिग्रिएर अस्तव्यस्त छन्। राजनीतिक भूकम्पले थिलोथिलो भएको मुलुकलाई सुधार गर्न एमाले नेतृत्वको सरकार लागेको छ,” उहाँले भन्नुभयो।

मन्त्री गुरुङले सूचना, प्रविधिको क्षेत्रमा दुईदेखि तीन वर्षमा तीनदेखि पाँच लाखलाई रोजगारी दिने योजना सुनाउनुभयो। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका उहाँले आफू मुख्यमन्त्री हुँदा युवालाई केन्द्रित गरी सीपमूलक तालिम केन्द्र खोल्ने र पोखरा १८ जामुनबोटमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना अगाडि सारेको स्मरण गर्नुभयो।

अहिले युवालाई गलत दिशातर्फ धकेलेर भड्काउने प्रत्ययन भएको टिप्पणी गर्दै उहाँले एमाले, कांग्रेस लगायतका मूल धारका राजनीतिक पार्टीले गरेका योगदानलाई नजरअन्दाज गर्न नसकिनेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “इतिहास सही रूपमा थाहा पाए मात्र जीवनमा सही दिशा हासिल गर्न सकिन्छ।”

कार्यक्रममा एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, प्रदेश कमिटी उपसचिव दामबहादुर विक, सचिवालय सदस्य टीकाराम पङ्गेनी, मध्य नेपाल नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप थापा, कृष्ण थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सय जना एमाले प्रवेश गरेका छन्।