• २३ पुस २०८१, मङ्गलबार

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्स। तस्बिरः उपराष्ट्रपतिको निजी सचिवालय

काठमाडौँ, मङ्सिर ११ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। 

भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तोष व्यक्त गर्दै भन्नुभयो, ‘दुई मित्रवत् देशबिचको  उच्चस्तरीय भ्रमण आदानप्रदानले एकआपसमा सहकार्यका लागि थप अवसर प्रदान गर्दै आएको छ।’ 

उहाँले युएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुचारु गरेकोमा हार्दिक धन्यवाद दिनुभयो। साथै ‘एयर अरेबिया’ को  उडान सञ्चालन गर्न महामहिम राजदूतको समन्वय तथा सहकार्यका लागि उहाँले अनुरोध गर्नुभयो।

उपराष्ट्रपति यादवले नेपाल सरकारको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने एयरलाइन्सलाई १६ सेप्टेम्बर, २०२६ सम्मका लागि शुल्क र राजस्वमा छुट प्रदान गरी प्रोत्साहन गर्ने निर्णयबारे जानकारी दिनुभयो। ‘भैरहवा तथा पोखराबाट वैदेशिक रोजगारीका लागि सोझै युएई प्रस्थान गर्ने नेपाली नागरिकले भिसा आवेदन गर्न उपरोक्त स्थानमा भिसा सेन्टर स्थापना गर्ने तर्फ संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक कदम चाल्नेछ भन्ने अपेक्षा नेपाल सरकारले गरेको छ’, उहाँले भन्नुभयो। 

उपराष्ट्रपति यादवले ठुलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै  नेपालले युएईको मानव संसाधनको आवश्यकता पूर्तिमा योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयो। 

उपराष्ट्रपति यादवले नेपाल अति कम विकसित मुलुकको सूचीबाट सन् २०२६ सम्ममा स्तरोन्नति हुने लक्ष्यका साथ अघि बढेकोले यस स्तरोन्नतिलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन  आवश्यक रहेकोमा यसका लागि युएई लगायत अन्य मित्रराष्ट्रको साथ सहयोग र सद्भावको खाँचो रहेको बताउनुभयो।

संयुक्त अरब इमिरेट्सका महामहिम राजदूत अब्दुल्ला अल शम्सीले नेपाली जनताको सेवाका लागि युएई सदैव तयार रहेको उल्लेख गर्दै नेपालको विभिन्न आयोजना र क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो। ‘गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुचारु गर्न एयर अरेबियासँग कुराकानी भइरहेको छ। आशा छ, त्यसले पनि उडान गर्नेछ ’ राजदूत शम्सीले भन्नुभयो, ‘युएईले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समर्थन गर्न चाहन्छ।’