• २३ पुस २०८१, मङ्गलबार

सुदूरपश्चिम महोत्सव आयोजना हुने

blog

महोत्सव आयोजनाबारे जानकारी गराईंदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, मङ्सिर ११ गते । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्न लागेको हो । संघले २०६३ सालदेखि यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । 

महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको सङ्घका अध्यक्ष पुष्प कुँवरले बताउनुभयो । 

महोत्सवमा कृषि, जडीबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरी पाँच सय वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस वर्षको महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । 

महोत्सव उद्घाटनका लागि सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिएको छ । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा सङ्घले सुदूरपश्चिम प्रदेशको विकासका लागि राज्यसमक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो । 

महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालयलगायतका पाँच माग पूर्णरुपमा पूरा भएको सङ्घका महासचिव ओम विष्टले जानकारी दिनुभयो । उहाँले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिनुभयो । 

गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेज स्थापना, चीनसँग जोड्ने नाका खोल्नुपर्ने, प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माणलगायतको माग पूरा हुन नसकेको सङ्घले जानकारी दिएको छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ । यसैगरी थारु गाउँसमेत रहने सङ्घले जानकारी दिएको छ । महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने सङ्घका अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि प्रति टिकट दुई, सङ्घको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुर्व्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने जानकारी दिनुभयो ।