• २३ पुस २०८१, मङ्गलबार

फुढाहाङलाई बिदाइ गरी मनाइयो पापानी चाड

blog

धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा मनाइयो पापानी चाड । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, मङ्सिर ११ गते ।
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरुको पापानी चाड सम्पन्न भएको छ । कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि नयाँ बाली भित्र्याएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिन्छ । यो चाड आजबाट आफ्ना कुलदेवता फुढाहाङलाई पूजाआजा गरी बिदाइ गरेसँगै विधिवत् रुपमा सम्पन्न भएको हो ।

चाड सुरु भएपछि मुन्धुम विदले फुढाहाङ (कु देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुलदेवता र पितृको पूजा गर्दै निरन्तर ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पूरा होस् भनेर एक जोडी परेवा उडाएर फुढाहाङलाई सम्झने गरिन्छ ।

पापानी पर्वमा किरात राईहरुले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्ने गरिन्छ । यो नाच एक अर्कोसँग कुम जोडेर बाजाको ताल अनुसार तीन पाइला अघि र तीन पाइलापछि सरी नाचिन्छ । यो पर्व कुलदेवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभूमि गाउँपालिका ६ आँखिसल्लाका डिल्लीराज राई बताउनुहुन्छ ।

एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ । विभिन्न स्थानमा वसोवास गर्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्याक्तिले यो चाड मनाउने गरेको स्थानीय नरेन्द्र राई ‘कस्चीत’ बताउनुहुन्छ ।

सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्य छ । यहाँको कुल जनसङ्ख्यामध्ये करिब ८० प्रतिशत राई समुदायको बसोवास छ । बसोवास रहेकामध्ये करिब ५० प्रतिशत राईहरुले यो पर्व मनाउछन् । पछिल्लो समय यो पर्व र स्थानीय मेला बाहिरबाट अवलोकनका लागि आउने व्यक्तिहरुको सङ्ख्या वर्षेनी बढ्दो छ । तर यहि पर्व मनाउने तथा पापानी नाच्नेहरुको सङ्ख्या भने वर्षेनी घट्दो छ । स्थानीय मौलिकता कला संस्कृति जगाउनु अहिलेको समयको माग भएकाले यो संरक्षणतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीयको माग छ  ।