• २३ पुस २०८१, मङ्गलबार

प्रदेशका दुई सचिवलाई थप जिम्मेवारी

blog

बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठक ।

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर ११ गते  । बागमती प्रदेश सरकारले प्रदेशका दुई जना सचिवलाई थप मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेशका मन्त्रालयहरु प्रदेश सचिवविहीन भएपछि प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका सचिवलाई थप मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयमा सचिव तोक्ने गरी निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गरेलाई युवा तथा खेलकुद मन्त्रालयको र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीलाई पर्यटन तथा सहकारी मन्त्रालयको समेत सचिवको जिम्मेवारी समाल्ने गरी तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा प्रदेश सभामा पेस गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र  प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रीपरिषद् बैठकले ती दुवै नियमावली छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको थियो ।