• २३ पुस २०८१, मङ्गलबार

पक्की पुल निर्माण सुरु भएको नौ वर्षपछि बेलिब्रिज

blog

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखुखोलामा जडान गरिएको बेलिब्रिज ।

मुरारी अधिकारी 

धादिङ, मङ्सिर ११ गते । मध्य पहाडी लोकमार्गको धादिङखण्डमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखुखोलामा नौ वर्षपछि बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ ।

२०७२ सालदेखि सो स्थानमा पक्की पुल निर्माण सुरु गरेको भए पनि निर्माण कार्य पूरा नभएपछि अहिले सडक विभाग अन्तर्गतको मध्य पहाडी लोकमार्ग आयोजनाले बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याएको हो । बेलिब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङका विभिन्न स्थानसम्म आवतजावतमा निकै सहज हुने भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाको खहरे बजार र अचनेटार जोड्न आँखुखोलामा बेलिब्रिज जडान भएसँगै अब मध्य पहाडी लोकमार्ग हुँदै सवारीसाधन उत्तरी धादिङका विभिन्न गाउँमा पुग्न सहज भएको अध्यक्ष उप्रेतीको भनाइ रहेको छ । 

पक्की पुल नभए पनि बेलिब्रिज जडान भई सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयमा खुसीको सीमा छैन । पुल निर्माण भएको त्रिपुरासुन्दरी–७ का वडाध्यक्ष सुभाष अधिकारीले पुल निर्माणले यस क्षेत्रका बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पुग्ने बताउनुभयो । पुल नहुँदा सो क्षेत्रका स्थानीयलाई आँखुखोला वारपार गर्न जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्नुपर्ने बाध्यता थियो । सडक सुविधा भए पनि अचनेटार, लपाङ्गल र उत्तरी धादिङका गाउँका स्थानमा सवारीसाधन आँखुखोला तरेर आवतजावत गर्न नसक्दा यहाँका स्थानीयले बोकेर बजारबाट दैनिक उपभोग्य सरसामान ल्याउनुपर्ने बाध्यता थियो ।

सो पुलले मध्यपहाडी लोकमार्ग हुँदै उत्तरी धादिङबाट नुवाकोटबाट राजधानी काठमाडौँसम्म जानका लागि निकै सहज हुने स्थानीय दीपक सिटौला बताउनुहुन्छ । आँखुखोलामा ६१ मिटर लम्बाइको बेलिब्रिज जडानका लागि मध्यपहाडी लोकमार्ग आयोजनाले छ करोड रुपियाँ खर्चेको छ ।