• २५ पुस २०८१, बिहिबार

बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य

blog

म्याग्दी,  मङ्सिर ११ गते ।  म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो । 

बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा तीन सय ९२ र आव २०८१/८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार आव २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । 

आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले बताउनुभयो । “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै चेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्”, उहाँले भन्नुभयो, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ ।” रासस