गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १० गते । गोरखमा आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी तीव्र रुपमा बढ्दै गएको छ । गण्डकी प्रदेशभरिको एकमात्र रिक्त रहेको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेकाले निर्वाचनको सरगर्मी तीव्र रुपमा बढ्दै गएको हो ।
गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने पक्का भएसँगै यतिबेला सक्रिय रुपमा रहेका ठुला दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेसपा लगायतका दलहरुले आफ्नो पक्षमा माहोल बनाउन र आफनो उम्मेदवारलाई जिताउन कसरतमा लागिपरेका छन् ।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार जिताउन पूर्व क्याम्पस प्रमुख रामशरण बानियाँको नेतृत्वमा टोली खटाएको छ भने नेपाली कांग्रेसले राजनराज पन्तलाई चुनाबी कमाण्डर तोकेको तथा नेकपा एमालेबाट नेकपा एमालेका जिल्ला सचिव काजीराम रोका, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व मन्त्री हरिशरण आचार्यलाई चुनावी कमाण्डर तोकेको सम्बन्धित पार्टीले जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापा मगरका अनुसार गोरखा नगरपालिका–५ का वडाध्यक्षका उम्मेदार विष्णु राना परिपक्व, इमानदार, त्यागी, विगत १० वर्षदेखि नेपाल मगर सङ्घलगायत विभिन्न सामाजिक सङ्घसंस्थामा काम गर्दै आउनुभएका सामाजिक व्यक्तित्व भएकाले पनि वडाको विकास गर्न साथै सबैको भावना बुझ्न सक्ने सरल व्यक्तित्व भएकाले पनि नेकपा माओवादी केन्द्रको तर्फबाट विष्णु राना मगरको जित पक्का भएको उहाँले दाबी गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाका अनुसार गोरखा नगरपालिकामा नेपाली कांग्रेसकाे राम्रो जनमत भएको वडा हुनुका साथै काम गर्न सक्ने युवा उम्मेदवार भएकाले पनि वडाध्यक्षका उम्मेदार भाइकाजी आलेकाे जित पक्का भएको उहाँको भनाइ छ ।
यता नेकपा एमालेको जिल्ला सचिव काजीराम रोकाले नेकपा एमालेका उम्मेदार खिलबहादुर रानाले २०७९ को स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिका–५ मा विकास सुरुवात गरेकाले पनि अधुरो रहेका कामलाई पूरा गर्न यो उपनिर्बाचनमा खिलबहादुर रानाकी धर्मपत्नी दुर्गा रानाले वडा अध्यक्षमा जित हासिल गर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका चुनावी कमाण्डर हरिशरण आचार्यले पनि पुराना राजनीतिक दलहरुलाई जनताले भोट नहाल्ने दाबी गर्दै गोरखा नगरपालिको उपनिर्वाचनमा घण्टी चिन्हमा मतदान गरी घण्टी चिन्हका उम्मेदार मङ्गल थापाले जित्ने विश्वास व्यक्त गर्नुभयो ।
अहिले विशेषगरी वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, अन्तरक्रिया, परामर्श जस्ता गतिविधि सुरु गरेका छन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदार भई खिलबहादुर राना निर्वाचित हुनुभएको थियो । २०८० साल तिहार भाइटीकाको दिन असामयिक निधन भएपछि गोनपा–५ मा उपनिर्वाचन हुन लागेको हो ।