• २१ पुस २०८१, आइतबार

सप्तकोशी नदी किनार क्षेत्र सफाइ गरिँदै

blog

सप्तकोसी नदी किनार क्षेत्र सरसफाइ गर्दै युवा । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, मङ्सिर १० गते । सप्तकोशी नदी किनार क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएपछि नदीको पूर्वी किनार क्षेत्रमा सफाइ सुरु गरिएको छ । हिउँद लागेसँगै नदीको पूर्वी किनारमा घुम्न र पिक्निक खान आउनेहरुले गरेको फोहाेरको व्यवस्थापन गर्न थालिएको हो । 

नदी किनार क्षेत्रमा जथाभावी फोहोर गर्दा घुम्न र पिक्निक खान आउनेहरुलाई दुर्गन्ध हुने भएपछि वराहक्षेत्र ७ सोमबारेमा स्थापित कञ्चनजङ्घा युवा क्लबले नदीकिनार क्षेत्र सरसफाइ गर्न थालेको क्लबका सदस्य सरोज सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी किनार क्षेत्रमा बढी फोहोर हुन थालेपछि क्लबको अगुवाइमा सरसफाइ गर्न थालेका छौँ ।”  

बाढीसँगै बगाएर ल्याएको फोहोर किनारमा छरपष्ट हुँदा कोशीको नदी किनार क्षेत्रमा फोहोर जम्मा भएको थियो । नदी क्षेत्रको बोरावान क्षेत्रमा भएको फोहोर उठाइएको क्लबले जनाएको छ।

नदी किनार सरसफाइ कार्यक्रममा वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीसहित स्थानीय युवाहरुको सहभागितामा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । “कोशी किनार क्षेत्रमा फोहर नफालौं, नदी किनार वरपर सधैं सफा र स्वच्छ राखौँ । फोहोर नगराैँ आफनो सभ्यताको परिचय दिऔँ । नदी हाम्रो सम्पत्ति तथा पहिचान हो, यसको सरसफाइ र संरक्षण तपाई हाम्रो दायित्व हो” भन्ने नारासहितको बोर्डसमेत गाडिएको छ । नदी किनार क्षेत्रको सरसफाइ कार्यक्रमलाई नियमित र प्रभावकारी बनाएर लैजाने कञ्चनजङ्घा युवा क्लबले जनाएको हो । 

यता, वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित वराहक्षेत्र नगपालिकाले नगरक्षेत्रको सार्वजनिक स्थलहरुमा सरसफाइ अभियान दुई वर्षदेखि निरन्तर रुपमा चलाउँदै आएको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । “कोशी किनार क्षेत्रको सरसफाइमा युवाहरले उदाहरणीय काम गर्दै आएका छन् । उहाँहरुलाई अभियानमा हौसला पु र्‍य ाउन आफू पनि सहभागी हुने गरेको छु,” नगरप्रमुख कार्कीले भन्नुभयो । 

प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलहरुमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा सरसफाइ गरिँदै आएको छ । पछिल्लो समय आवश्यकता अनुसार शनिवारबाहेक अरु दिन पनि सर्वजनिक स्थलहरुको सरसफाइ गरिँदै आएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले साविकका पाँच वटा गाविस प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल, वराहक्षेत्रका प्रमुख चौक, बजार, मठ, मन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, बसस्टेसन, औलिया मठ परिसरलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर र आवश्यकता अनुसार सरसफाइ गरिँदै आएको छ । नगरपालिकाले चलाएको अभियान अन्तर्गत वराहक्षेत्र मन्दिर, चतराधाम क्षेत्रमा मानसहरुको चहलपहल बाक्लो हुने हुँदा बढी मात्रमा सरसफाइलाई ध्यान दिनुपरेको जनाइएको छ । 

बराहक्षेत्रलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको नगर सरसफाइ अभियानलाई सार्थक बनाउन साप्ताहिक रुपमा सार्वजनिक स्थानमा सरसफाइ गरिँदै आएको जनाइएको छ ।

नगरपालिकाको सरससफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी, राजनितिक दलका नेता, कार्यकर्ताहरु, स्थानीय सङ्घ संस्थाहरु र नगर प्रहरीलगायतको सहभागिता रहँदै आएको छ ।