• २१ पुस २०८१, आइतबार

कलाकार शाहसँग ललितकला संवाद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार अग्रज कलाकार शशिविक्रम शाहसँग ललितकला संवाद सम्पन्न भएको छ । सो कार्यक्रममा कलाकार शाहले आफ्नो कला यात्रामा जोडिएका विभिन्न रोचक किस्सा सुनाउनुभयो । ८५ वर्षीय कलाकार शाहले भारत, जापानलगायतका देशमा पुग्दाका तथा अध्यापन गर्दाको प्रसङगसमेत विस्तारमा चर्चा गर्नुभएको थियो ।

कलाकार शाहले बेलायतको टेट म्युजियममा आफ्ना कलाकृति पहिलो पटक प्रदर्शनी हुँदा निकै गर्वको अनुभूति गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपाली कलाकारिताका लागि नै गौरवको क्षण थियो ।”

सो कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रमले कलाकारलाई प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले कलाकार शाहको सम्मानस्वरूप कार्यक्रम गरिएको पनि जानकारी दिनुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले अग्रज कलाकार शाहलाई अगाडि राखेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अग्रज कलाकारको सम्मानमा ललितकला प्रतिष्ठानले काम गरिरहेको छ पनि भन्नुभयो । यसै गरी कलाकार शशिविक्रम शाहका बारेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव विपिन घिमिरे, सिद्धार्थ आर्ट ग्यालरीका अध्यक्ष सङगीता थापा, अग्रज कलाकार कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठलगायतले आआफ्ना धारणा, स्मृति साझा गर्नुभएको थियो ।