• २१ पुस २०८१, आइतबार

राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते ।  नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङघ (निस्टा) को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगी कविले श्रमचेतनासम्बन्धी कविता वाचन गर्नुभएको थियो ।

राष्ट्रव्यापी कविता प्रतियोगितामा विवेक पराजुलीले पहिलो भएर ५०  हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । यसै गरी दोस्रो हुने देवीप्रसाद बराललाई ३५ हजार तथा तेस्रो हुने भीष्मराज काफ्ले र गौरी कँडेललाई २० हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पूर्वउपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेसागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो  । सो कार्यक्रममा डा. कोमल फुयाँलले विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रमचेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । ‘निस्टा आवाजः सृजनामा श्रम’ आवाज मूल नाराका साथ आयोजित समारोहमा निस्टाका सल्लाहकार संयोजक मुकुन्द गौतम र अनुसन्धान सल्लाहकार डा. दशरथ न्यौपानेलाई सम्मानित गरिएको थियो । सो अवसरमा निस्टा बागमती प्रदेशद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा यान्त्रिक माध्यमद्वारा आयोजित समारोहका अभिनन्दित शोधार्थीलाई समेत सम्मान गरिएको प्रदेश अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष भोलानाथ चालिसेले निस्टाले पेसागत सवालका अतिरिक्त शिक्षक तथा विद्यार्थी केन्द्रित सिर्जनात्मक र अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । शिक्षक–कर्मचारीको न्यूनतम तलबमा र सामाजिक सुरक्षाका सवालमा निरन्तर सङघर्षरत रहेकोमा जोड दिँदै अध्यक्ष चालिसेले शिक्षक–विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउन प्रदेशस्तरमा समेत विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

सो समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर, ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपाली, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलनाथ दाहाल, पब्लिक क्याम्पस प्राध्यापक सङघका सल्लाहकार प्राडा घमानसिंह खडका,  नेविसङ्घ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेपाल लेखक सङघ महासचिव सोझो गाउँलेलगायतको उपस्थिति रहेको थियो ।