• २१ पुस २०८१, आइतबार

मृत्युपछिको अङ्गदानलाई प्रोत्साहन, हजारभन्दा बढी बिरामी दाताको प्रतीक्षामा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । नेपालमा एक हजार मिर्गौला र ५५ जना कलेजोका बिरामी दाता प्राप्तिको प्रतीक्षामा छन् । उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर हुनु परिरहेको छ । हाल नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब फोक्सो र मुटुका लागिसमेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी गरेको जनाएको छ ।

 हाल भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय जनाको मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अङ्ग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् । 

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले हाल सचेतना अभावमा दान गर्न चाहनेको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँले मृत्युपश्चात् हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने बताउनुभयो । मन्त्रालयको प्रोत्साहनमूलक निर्णयले दाता बढेर धेरैको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ । 

दाताका परिवारलाई दुई लाख 

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार मृत्युपश्चात् शरीरका अङ्ग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अङ्गदान गर्ने व्यक्तिको परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । 

यसअघि मानव अङ्ग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपियाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपियाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने निर्णय गरेको हो । 

स्वास्थ्यमन्त्री पौडेलले दाताको परिवारलाई दुई लाख दिने निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको बताउनुभयो । 

अङ्गदानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपियाँमा मन्त्रालयले २५ हजार रुपियाँ थप गरेर ७५ हजार रुपियाँ पु¥याएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो । नेपालमा हालसम्म १३ जनाको अङ्ग मात्र मस्तिष्क मृत्युबाट प्रत्यारोपण गरिएको जानकारी दिँदै उहाँले दाताको परिवारलाई दुई लाख रुपियाँ दिनु उपलब्धिमूलक भएको बताउनुभयो । 

मन्त्री पौडेलले आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजिएको बताउँदै भन्नुभयो, “एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौँ ।” मन्त्री पौडेल स्वयम्लेसमेत यसअघि नै अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । 

विद्यमान कानुनी व्यवस्था अनुसार जीवित व्यक्तिले अङ्गदान गर्न चाहेमा रगतको नाता पर्नेलाई मात्र अङ्गदान गर्न पाउँछन् तर मृत्युपश्चात् अङ्गदान गर्नेको अङ्ग जसले पनि प्रयोग गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।