गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । बालबालिकाको भावना पोखिएका चित्रकला ‘रङ्गीन सपना’ शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । उपसभामुख इन्दिरा रानामगरले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बिहीबार आयोजित सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
उहाँले जुनसुकै वातावरणमा हुर्किरहेका बालबालिकाले पनि आत्मसम्मानपूर्वक बाँच्न पाउने हकका लागि आफूले ३५ वर्षदेखि काम गरिरहेको बताउँदै चित्रकला बाल भावना प्रस्तुत गर्ने विशेष माध्यम रहेको बताउनुभयो । उहाँले बुवाआमा जेलमा परेकाका सन्तानलाई शिक्षा, आवासलगायतका सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ । उपसभामुख रानामगरले आफूले बाल अधिकारको प्रत्याभूतिसहित हुर्कने वातावरण प्रदान गरेका बालबालिकाले बनाउने चित्रहरूमा प्रायः कालो रङ पोतिएको पाइएको अनुभव सुनाउँदै ती बालबालिकाले बनाउने चित्रले निराशालाई प्रतिविम्बत गथ्र्यो भने आर्ट काउन्सिलमा आयोजित ‘रङ्गीन सपना’ शीर्षकको चित्रकलामा प्रदर्शन गरिएका चित्रमा हरियो डाँडाकाँडा, निलो आकाश, कञ्चन खोला, सेता हिमाललाई देखाएको भन्दै परिवारसँग बसेका बालबालिकाको छुट्टै मनोभावना पाइएको पनि बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले बालबालिकालाई शिक्षासँगै चित्रकलासँग पनि जोड्ने आर्टविट, योङ पिकासोलगायतको अभियानले कलाको पुस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । ‘रङ्गीन सपना’ चित्रकला प्रदर्शनीका आयोजक जुजुकाजी महर्जनले यस प्रदर्शनीमा आर्टविट कला शिक्षा दिएका २० जना, मीन माध्यमिक विद्यालय तनहुँ थर्पुमा आयोजित कला कार्यशालाका २३ जना, योङ पिकासोमा आबद्ध र नवोदित १३ जना कलाकार, एचआइभी सङ्क्रमण भएका विद्यार्थी र दृष्टिविहीन विद्यार्थीले बनाएका माटाका कलासमेत प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । कला व्यवस्थापक दिपेश प्रधानले स्याटरडे प्लेन एयरले कला प्रवर्धनका लागि शनिबार पारेर सांस्कृतिक÷धार्मिक सम्पदा क्षेत्रमा पुगेर चित्रकला सिर्जना गर्दै आएको र प्रदर्शनीमा बालबालिकाको प्रतिभा प्रदर्शनका लागि आर्टविटसँग सहकार्य गर्ने अवसर मिलेको बताउनुभयो । शनिबारसम्म जारी रहने रङ्गीन सपना चित्रकला प्रदर्शनीमा हिमाल, वनजङ्गल, पोखरी, नदी, चरा, धार्मिक सम्पदा, लाखे, कुमारीलगायत दैनिक जीवनका गतिविधिलगायत स्वच्छ वातावरण झल्काउने विविध सन्देशमूलक चित्रकला, माटाका कला प्रदर्शनीमा राखिएका छन् ।