गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ७ गते । लैङ्गिक हिंसाविरुद्ध नाटक, सांस्कृतिक कार्यक्रममार्फत जनचेतनात्मक सन्देशसहित महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको महासन्धि (सिड) को छाया प्रतिवेदनको तयारी गरिएको छ । महिला, विकास र कानुन मञ्चद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ‘पर्खालभित्रको अनुहार’ नाटक प्रस्तुत गर्दै नेपाली महिलाले घरभित्र, सार्वजनिक यातायात र कार्यालयमा भोग्नु परेका लैङ्गिक हिंसालाई चित्रित गर्दै समाधानको उपाय खोजिएको हो ।
सो अवसरमा अस्मिता मगर, हेमन्त मगर, एलिसा न्यौपाने, अर्चना सिंहलगायतका कलाकारको अभिनय रहेको नाटक पनि मञ्चन गरिएको थियो । जसमा आधुनिक जीवनशैलीमा महिलाले घरबाहिर निस्किएर काम गर्दै घरको आर्थिक सशक्तीकरणमा भूमिका खेलेको सन्देश देखाइएको छ । यसै गरी सो नाटक घरपरिवारबाट सहयोग नपाउने, सार्वजनिक यातायातमा कोचिएर, भिडभाडमा यात्रा गर्दा पनि हिंसा खेप्नु परेको र कार्यालयमा समेत हाकिमलगायत सहपाठीले सम्मानजनक नजरले नहेरी हिंसा गर्न खोज्नेलगायतका समस्यामा महिलाले काम गरिरहेको यथार्थ घटनामा आधारित थियो ।
सो कार्यक्रममा गीतामाता माध्यमिक विद्यालय र पाठशाला स्कुलका विद्यार्थीले सचेतनामूलक गीत तथा नृत्यमार्फत लिङ्ग छनोट गरी छोरीलाई गर्भमै नमार, पारिजात, भृकुटी, गौरिका, पलेशालगायतका छोरीले देशको नाम उच्च बनाएको काम हेर भन्दै राज्यले छोरी बचाउने नीति ल्याएर कडाइका साथ लागु गर्नुपर्ने सन्देश दिएका थिए ।
सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबैखाले भेदभावको अन्त्यका लागि बनेको सिड महासन्धि नेपाल पक्षराष्ट्र हो र सो महासन्धि अनुसार नीति बनाएर लागु गर्ने प्रयास भइरहेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले समाजमा महिला, किशोरी सुरक्षित र सम्मानित भए मात्र देशको उन्नति, विकास हुने धारणा व्यक्त गर्दै यस्तो वातावरण तयार गर्न सिर्जनात्मक विधिबाट अगाडि बढ्न सकिने उदाहरण यस कार्यक्रमले दिएको बताउनुभयो ।
महिला, विकास र कानुन मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाविरुद्ध भइरहेको विभेदको अन्त्यका लागि नाटक र सांस्कृतिक प्रस्तुतिमार्फत जागरण ल्याउने प्रयास गरिएको बताउनुभयो । मञ्चले यसअघि प्रादेशिक छाया प्रतिवेदनका लागि प्रदेशस्तरीय भेलाहरू सम्पन्न गरेको थियो ।