• १० मंसिर २०८१, सोमबार

कला–स्रष्टासँग लेखक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा अग्रज कलाकार एवं प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुन्दर सिंख्वालसँग लेखक तथा पत्रकारले उहाँको कला, कलायात्रा, शैली, शिल्प, दर्शन, प्रभाव आदिका बारेमा जिज्ञासा राख्नुभएको थियो । प्रदर्शनीमा जम्मा ३० वटा पौभा चित्र समावेश छन् । दुई/तीन वटा छाडेर प्रायः सबै पौभा चित्र छ/सात वर्षका अन्तरालमा बनाइएका हुन् । 

प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभा राखिएका छन् । हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, वसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ तारा आदि रहेका छन् । जसमा सिंख्वालको कलाको साधनालाई प्रतिविम्बित गर्ने प्रशस्त चिह्नसमेत देख्न सकिन्छ । 

विगत ३८ वर्षदेखि परम्परागत पौभा कलाका क्षेत्रमा निरन्तर रूपमा सक्रिय कलाकार सुन्दर सिंख्वालको ‘साधना’ नामक पौभाको पहिलो एकल प्रदर्शनीमा आधारित रहेर गरिएको कार्यक्रमको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले संयोजन गर्नुभएको थियो ।