• ७ मंसिर २०८१, शुक्रबार

पोखरीमा १० हजार माछाका भुरा छाडिए

blog

सैनामैना –४ मा रहेको पोखरीमा माछाका भुरा छाडिँदै । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, मङ्सिर ६ गते । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसाथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका –४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छाडिएका छन् । 

स्थानीय समुदायको आय आर्जनमा टेवा गर्ने उद्देश्यले सिमसार क्षेत्रको रूपमा विकास गर्दैगरेको १२ बिघा तालमा रोहु र नैनी जातका माछाका भुरा छाडिएका हुन् । 

सो पोखरीमा बाह्रै महिना पानी हुने र चराचुरूङ्गीको समेत वासस्थान रहेकाले १२ बिघा पोखरीलाई सिमसार क्षेत्रको रूपमा विकास गर्ने योजना सैनामैना नगरपालिकाले बनाएको जनाएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक दिपक भुसालले खोलामा बिषादी छर्केर माछा मार्ने क्रम बढिरहेको बताउँदै त्यसबाट प्राकृतिक जलचर नष्ट हुने अवस्थामा पुगेको बताउनुभयो । 

माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिँचाइका लागि उपयुक्त मानिने भएकाले वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले रोक लगाए पनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । 

उहाँले नदी दोहन बढ्दा खोलामा प्रदूषण बढेको र त्यसकै कारण स्थानीय जातका माछा नष्ट हुँदैगएको बताउँदै माछाले प्राकृतिक सन्तुलन कायम गर्न सहयोग गर्ने  भएकाले खोला, नदी तथा तालका माछा संरक्षण गर्न आग्रह गर्नुभयो । 

निर्देशक भुसालले माछाको प्रजनन वृद्धिमा समेत सहयोग गर्ने र ताललाई सफा राख्न माछाले सहयोग गर्ने भएकाले आगामी दिनमा तालमा छाडिएका माछा संरक्षण गर्न स्थानीय समुदायसँग आग्रह गर्नुभयो । 

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नु पर्ने बताउँदै १२ बिघा पोखरीमा बाह्रै महिना पानी हुने भएकाले मत्स्य प्रजननका लागि पनि उत्तम रहने बताउनुभयो । 

उहाँले नगरपालिकाले उक्त पोखरीको संरक्षण गरेर सैनामैनालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार सिमसार क्षेत्रको रुपमा संरक्षणको पहल सुरु गरेको बताउनुभयो । 

१२ बिघा पोखरीलाई पर्यापर्यटनसँग जोड्ने गरी नगरपालिकाले बजेट विनियोजन गरी सफाई अभियान सञ्चालन गरिसकेको छ । जैविक विविधतासँग सम्बन्धित रहेको त्यस्ता पोखरीलाई संरक्षण गरी पर्यावरणीय क्षेत्रको प्रवर्धनमा समेत टेवा गर्न सकिने सैनामैना नगरपालिका पदाधिकारीको भनाइ छ । पोखरीको क्षेत्रफल १२ बिघा रहेकाले पोखरीको नाम नै १२ बिघा पोखरी राखिएको छ ।