• ७ मंसिर २०८१, शुक्रबार

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकको मर्मत

blog

तानसेन–तम्घास सडक अन्तर्गत बर्तुङ्मा सडक मर्मत गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर ६ गते । सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक मर्मतसुधार भइरहेको छ । कालोपत्रे सडकमा परेको ठुला–ठुला खाल्टाखुल्टी टाल्ने काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बाँसटारीदेखि तानसेन–बगनासकाली हुँदै रम्भाको धैरेनीसम्मको सडक मर्मतसुधार गरिएको हो । सडकमा परेको खाल्टा कालोपत्रे बिछ्याएर टाल्ने काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । 

लामो समय मर्मतसुधार नहुँदा सिद्धार्थ राजमार्गको अधिकांश स्थानमा खाल्टा परेका थिए । केही स्थानमा पहिरो खसेर सडकका कालोपत्रे उप्किएका थिए। सडकमा परेको खाल्टा र कालोपत्रे उप्किएर सवारीसाधन निर्बाध चल्न सकेका थिएनन् । वर्षात्मा बाढी, पहिरो र गेग्रानले बिगारेका सडकलाई मर्मत कार्य भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो । 

डिभिजन सडक कार्यालयले नियमित सडक मर्मत अन्तर्गत सडक मर्मतसुधारको काम गरेको जनाएको छ । बाँसटारीदेखि रम्भाको धैरेनीसम्म सडक मर्मतका लागि ३६ लाख ६० हजार रुपियाँको ठेक्का सम्झौता भई काम भएको गौतमले बताउनुभयो । "नियमित सडक मर्मतसुधार अन्तर्गत सडक मर्मतसुधारको काम भइरहेको छ," उहाँले भन्नुभयो, "सडक मर्मतभएपछि साना तथा ठुला सवारीसाधन गुडाउन सहज हुनेछ ।"

सडक डिभिजन कार्यालयले तानसेन–तम्घास सडकखण्डको बर्तुङदखि ढुङ्गाखानी बाइपाससम्मको सडक मर्मतसुधार गरिरहेको छ । यो सडक मर्मतका लागि १७ लाख २९ हजार रुपियाँमा ठेक्का भएको छ । बाइपास सडकमा टिप्परका कारण अधिकांश स्थानमा सडक बिग्रिएको थियो । 

यस्तै ढुङ्गाखानीदेखि हार्थोकसम्मको सडकमा कालोपत्रे र मर्मतसुधारको काम भइरहेको छ । त्यस क्षेत्रको सडक मर्मतका लागि दुई करोड ५६ लाख ८२ हजार रुपियाँमा ठेक्का भई काम भइरहेको डिभिजन कार्यालय पाल्पाले जनाएको छ । वर्षात्का कारण र अन्य कारणले बिग्रिएका सडक मर्मतसुधार गरी सडकको अवस्था सुधार गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।