• ७ मंसिर २०८१, शुक्रबार

शर्माको एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’

blog

चित्रकला प्रदर्शनीमा आफ्नै चित्र अवलोकन गर्दै चित्रकार भीमप्रसाद शर्मा ।

वसन्त पराजुली 

नारायणगढ, मङ्सिर ६ गते । चित्रकार भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी कुण्डलिनी’ गैँडाकोटमा जारी छ । गत कात्तिक २१ देखि सुरु भई माघ १२ सम्म रहने सो ‘कुण्डलिनी’ अवलोकन गर्न सर्वसाधारण तथा विद्यार्थीहरूको आकर्षण बढ्दो छ ।

कुण्डलिनी भनेको चेतना विकासको चरण हो । मान्छेमा हुने चेतना विकासको चरणलाई नै आफूले चित्रमा पोख्ने काम गरेको चित्रकार शर्माले जनाउनुभयो ।

“अहिले प्रदर्शनीमा राखिएका ३७ वटा चित्र मानिसका चेतना विकासका चरणलाई समेटेर कोरिएका हुन्”, उहाँले भन्नुभयो ।

“प्रदर्शनीमा राखिएका अनाहत चक्रमा मानवीय प्रेम र सम्बन्ध देखाउन खोजेको छु, विशुद्धि चक्रमा अभिव्यक्ति र आत्म विश्वास जनाउन खोजिएको छ, आज्ञा चक्रले मान्छेमा  ज्ञानको भण्डार छ भन्ने देखाउन खोजिएको छ । यो ज्ञानको भण्डार  नैतिकताले नियन्त्रण गर्नुपर्ने पनि चित्रमा पोखिएको छ”, उहाँले चित्र देखाउँदै व्याख्या गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “मूलाधर चक्र भएको चित्र  मान्छेका आधारभूत आवश्यकतासँग जोडिएका छन् जसले मानिसको ऊर्जा विकासमा सहयोग पुर्याउँछ भने स्वाधिष्ठान चक्र भएको चित्रमा मानिसको भित्री अङ्गहरूको प्रणालीसँग जोडिएको छ”, आफ्ना चित्रहरूको व्याख्या गर्दै उहाँले भन्नुभयो, “चित्रहरूमा  ध्यान र बुद्धत्वमा जोड दिएको छु ।”

चित्रहरू बिक्रीका लागि पनि राखिएका छन् । एक जोडी चित्रको एक लाख रुपियाँसम्म मूल्य निर्धारण गरिएको पनि बताइन्छ । कुण्डलिनीको अवलोकनपछि चितवनकी साहित्यकार सामना पहाडले चित्रमा मानवीय चेत आउनु सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।

“चित्र धेरैले कोर्छन् । चित्रका लागि चित्र मात्रै भएर भएन । एउटा मानव चेतनाको साइकल नै दिने गरी चित्र कोरिनु आफैँमा राम्रो काम हो”, उहाँले भन्नुभयो ।

शर्माको यो १२ औँ  एकल चित्रकला प्रदर्शनी हो । छ दशक उमेर पार गर्दै गर्नुभएका चित्रकार शर्माले अहिलेसम्म एक हजारभन्दा भन्दा बढी चित्र बनाइसक्नुभएको बताइन्छ । पानी र रङमै १६ वर्षको उमेरदेखि खेल्न थालेको उहाँले बताउनुभयो । अहिले प्रदर्शनीमा राखिएका चित्रहरू  कोरोना कालमा बनाइएका हुन् ।

“कोरोनाको सन्त्रास हुँदा सबै डराइरहेका थिए ।  मलाई भने चित्र बनाउने उपयुक्त समय मिल्यो । अहिले प्रदर्शनीमा राखिएका चित्रहरू तीन वर्ष लगाएर बनाएका हुन्”, उहाँले भन्नुभयो ।