• ७ मंसिर २०८१, शुक्रबार

जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान

blog

रमेश विश्वकर्मा

गुल्मी, मंसिर ५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो । 

“जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान” कार्यक्रमअनुसार गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडा अनुदान उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । 

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि– २०८० को परिच्छेद –२ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो । 

जग्गा भाडामा लि खेती गरेका किसानले कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा १५ रोपनीभन्दा माथि लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने, एकवर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्षको र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षको सम्झौता भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।