• १० मंसिर २०८१, सोमबार

करिब ८ हजार छात्रछात्राको निःशुल्क मुटु परीक्षण

blog

नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा मेलम्चीमा आयोजित मुटु परीक्षणमा छात्रछात्राको मुटु परीक्षण गरिँदै ।

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर ५ गते । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगाचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ । 

उक्त सङ्ख्यामध्ये सातसय बढी विद्यार्थीको इको गरिएकोमा ३४ जना छात्रछात्राको मुटुमा प्वाल परेको र १२ जना विद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने परीक्षणमा प्रमाणित भएको आयोजक संस्थाका शाखा सभापति कमलचरण कक्षपतिले जानकारी दिनुभयो । 

मुटुमा प्वाल परेका विद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना विद्यार्थीलाई अभिभावक, विद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित सहिद गङ्गालाल हृदय प्रतिष्ठान अस्पतालमा निःशुल्क अप्रेसन गराउने सभापति कक्षपतिले बताउनुभयो । 

चौतारा साँगाचोकगढी नगरपालिकाको जनविकास माध्यमिक विद्यालय, जनजागृति मावि, रामदेवी मावि, ईखु माबि, ज्ञानमन्दिर मावि, सेतीदेवी मावि, सिद्धिकमला माविलगायत १४ वटा विद्यालयका विद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से मावि, इन्द्रेश्वरी मावि, जालपा मावि लगायत ६ वटा विद्यालय र हेलम्बुको सरस्वती माविका छात्रछात्राको निःशुल्क मुटु परीक्षण गरिएको नेपाल हार्ट फाउण्डेसन जिल्ला सदस्य प्रेम लामाले बताउनुभयो । 

नेपाल हार्ट फाउण्डेसनका डाक्टर, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजुलगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो । सो अवसरमा शिक्षक, कर्मचारीको ब्लडप्रेसर पनि जाँच गरिएको थियो ।

प्रतिष्ठान जिल्ला समितिले स्वास्थ्यसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गर्दैआएको छ । त्यसैक्रममा चौतारास्थित कृष्णरत्न गङ्गा मावि समुदाय सचेतनामूलक कार्यक्रम गरेको छ । २०६५ सालमा स्थापना भएको जिल्ला शाखाले बाल हृदय बचाउ अभियान सञ्चालन गर्दैआएको छ ।