• ११ पुस २०८१, बिहिबार

‘मिस इन्टरकन्टिनेन्टल’ मा डा. आयुष्नोभा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्ने हुनुभएको छ । शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना  हुने प्रतियोगिताका लागि उहाँ केही दिनपछि इजिप्ट जाँदै हुनुहुन्छ । प्रतियोगिताका लागि उहाँले राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनु हुने छ । 

‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको उहाँले बताउनुभयो । ताज नेपाल ल्याउने उद्देश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उहाँको भनाइ छ । “प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु,” ढुङ्गानाले भनिन्, “नेपालको नाम उचो गरेर फर्किन्छु ।” जितका लागि सबै नेपालीको शुभकामना र शुभेच्छाको अपेक्षा आफूले राखेको उहाँले सुनाउनुभयो  । 

प्रतियोगिताका लागि उहाँले एक भिडियो पनि बनाउनुभएको छ । जसमा नेपालको ऐतिहासिक धरोहर मठमन्दिर, प्राकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरनलगायतका कलासंस्कृतिसमेत झल्काउनुभएको छ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि विजेतासमेत रहेकी डा. ढुङ्गाना मोडल पनि हुनुहुन्छ । कलाकारिता र चिकित्सा पेसा एकसाथ अगाडि बढाइरहेकी उहाँले बङ्गलादेशबाट एमबिबिएस गर्नुभएको हो ।