• ७ मंसिर २०८१, शुक्रबार

नेपाली चिया चीनमा निर्यात

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) मङ्सिर ४ गते । इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ । युरोप, अमेरीका लगायतका देशमा चिया निर्यात गर्दै आएको गोर्खाले चियाको सबैभन्दा ठूलो बजार चीनमा पहिलो पटक ७० लाख रुपियाँ मूल्य बराबरको ६ हजार ३ सय ६२ किलोग्राम चिया निर्यात गरेको हो । 

गोर्खा टी स्टेटका सञ्चालन तथा चिया उद्योगी उदय चापाँगाईले तीन वर्षदेखि बजारका लागि चीनमा कसरत गर्दा पहिलो पटक चिया पठाउन सफल भएको जनाकारी दिनुभयो । चीनका व्यापारीले यसअघि थोरै मात्रामा नेपाली चिया आफै किनेर लैजाने गरेका थिए । 

चिया उद्योगी चापाँगाईले भन्नुभयो, "भारतले नेपाली चियामा विषादीको मात्रा देखाएर दुख दिईरहेकोबेला चीनमा चिया निर्यात सुरु हुन चिया क्षेत्रका लागि सुखद पक्ष हो ।" उहाँले चियाको परीक्षण गरेर मात्र चीनले निर्यातको ढोका खोलेको बताउनुभयो । उहाँले चिया निर्यात भएपनि नेपाली चिया पूर्ण रुपमा अर्गानिक गर्न सके मात्र ठूलो परिमाणमा चीनमा चिया निर्यात गर्न सकिने बताउनुभयो । 

मेची भन्सार कार्यालय काकडभिट्टाका अनुसार पूर्वी नाका कोलकाता हुँदै नेपाली चिया चीन पुगेको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको गोर्खा टी स्टेटले जनाएको छ । नेपालले करिव दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको राष्ट्रि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।

नेपालमा करिब १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । चियामा १७ हजारभन्दा बढी किसान आवद्ध छन् । 

६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष चियामा संलग्न छन् । नेपालमै सबैभन्दा बढी अर्थोडक्स चिया इलाममा उत्पादन हुने गरेको छ ।