• ७ मंसिर २०८१, शुक्रबार

सात पदका लागि १०२ जनाको उम्मेदवारी

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, मङ्सिर ४ गते । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका नगरप्रमुख पद र काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि सबैभन्दा बढी स्वतन्त्रको ११÷११ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका नगरप्रमुखका लागि २० जनाको उम्मेदवारी दर्ता भएकोमा सबै पुरुष मात्र रहेका छन् । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा एक महिलासहित नौ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये तीन जना स्वतन्त्र छन् । 

कीर्तिपुर नगरपालिकाकै ४ नं. को वडाध्यक्षमा दुई महिला, एक अन्यसहित १३ जनाको उम्मेदवारी दर्ता भएकोमा आठ जना दलबाट र पाँच जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि दुई महिलासहित १९ जनाको उम्मेदवारी दर्ता भएको छ । 

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा १२ महिला र चार पुरुषसहित १६ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये नौ जना स्वतन्त्र रहेका छन् । 

यसै गरी हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा तीन महिलासहित १४ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये पाँच जना स्वतन्त्र रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक महिलासहित ११ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन् । 

निर्वाचन कार्यव्रmम अनुसार सोमबार उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने कार्यतालिका रहेकोमा हेटौँडामा दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मङ्गलबार उजुरीउपर छानबिन र निर्णय गर्ने निर्वाचन आयोगको निर्वाचन कार्यतालिका रहेको छ ।