• १० मंसिर २०८१, सोमबार

मुख्य नाकाका सिसिटिभी चल्दैनन्

blog

कावासोती समाचारदाता 

कावासोती, मङ्सिर ४ गते । पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएका ७८ प्रतिशत सिसिटिभी नचल्ने अवस्थामा छन् । सिसिटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न साथै आपराधिक घटनाको अनुसन्धानमा सहज बनाउन नवलपुरका मुख्य नाकामा अत्याधुनिक प्रणालीसहित सिसिटिभी जडान गरिएको थियो । 

हावाहुरी, पानी, चट्याङ र नारायणगढ बुटवल सडक विस्तारका कारणले सिसिटिभी बिग्रिएर बसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतीय नाकानजिक रहेका कारण लागुऔषध ओसारपसार तथा कारोबार समस्या बढ्दै गएको छ । उहाँले भन्नुभयो, “सिसिटिभी नचल्दा अपराध गरेर र दुर्घटना गराएर सवारीचालक भाग्ने गरेका छन् ।

जिल्लामा यसअघि जडान गरिएका सिसिटिभी क्यामरा नचल्ने अवस्थामा रहेकाले अहिले शान्ति सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि पूर्वपश्चिम राजमार्गको मुख्य बजार तथा भित्री सडकमा अत्याधुनिक सिसिटिभी जडान गरिने भएको छ । जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसिटिभीबाट निगरानी गरिने भएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा बसेको स्थानीय तह, सुरक्षा निकाय र सडक विभाग, यातायात व्यवसायी र सरोकारवालाको बैठकले जिल्लाको गैँडाकोट नारायणी किनारदेखि दाउन्नेसम्म पूर्वपश्चिम राजमार्ग र पहाडी भेग गरेर १७ वटा क्यामरा जडान गर्ने निर्णय गरेको हो । कावासोती नगरपालिका–७, देवचुली–५, गैँडाकोट–४, मध्यबिन्दु–४, विनयीत्रिवेणी गाउँपालिकामा–२,  बौदीकाली–३, बुलिङटार–२ मा सिसिटिभी क्यामरा जडान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।