सन्तोष सुवेदी
कास्की, मङ्सिर ३ गते । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यावसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताउनुभएको छ। सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमूलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यावसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताउनुभएको हो ।
“आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोही बमोजिम लगानी गरिरहेको छ,” उहाँले भन्नुभयो । मन्त्री थापाले काम गरेर कोही पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभएको छ । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ ।
“सीप सिकेर युवाहरू विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनुभएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशील र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो,” उहाँले भन्नुभयो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गर्नुभयो । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उहाँको अनुरोध छ । मन्त्रालयले आवश्यकता अनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उहाँले गराउनुभएको छ ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मी भद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश शृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने९सैलुन०, फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्प्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराउनुभयो । उहाँका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ ।
स्वरोजगार स्थापना र उद्यमशीलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरी कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उहाँले गराउनुभयो । तालिममा कृष्ण प्रसाद थापा र सिता वाग्ले प्रशिक्षक रहनुहुनेछ ।