• ३ मंसिर २०८१, सोमबार

जोखिम मोलेर पहिरो गएकै ठाउँमा बस्न बाध्य पहिरो पीडित

blog

चन्द्रबहादुर बिसुंखेको उच्च जोखिममा परेको घर ।

चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर ३ गते । जुगल गाउँपालिका–१ कुनेगाउँमा असोज ११ र १२ गतेको अविरल वर्षातले गाउँको तीन घर बगायो । गाउँका अरू १२ घर उच्च जोखिममा पारेको छ । तर सरकारले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा पीडितहरू उच्च जोखिम स्थलमै बसोबास गर्न बाध्य छन् ।

कुनेगाउँमा बाँकी रहेका १२ घर उच्च जोखिममा भए पनि प्रभावितहरू घर छाडेर अन्यत्र गएर बस्न सकेका छैनन् । अन्य स्थानमा सुरक्षित जग्गा नभएका कारण जोखिम स्थलमै बस्नु परेको पहिरो प्रभावित चन्द्र बहादुर बिसुंखेले पीडा सुनाउनुभयो । पहिरोलेसँगै रहेका तीन घर सरलक्कै बगायो । सँगै रहेको चन्द्र र विकास रोक्काको घर उही जोखिममा छ । पहिरो गएको यति लामो समय हुँदा समेत सरकारले त्यस ठाउँमा पुनस्थानान्तरणका केही काम अघि बढाएको छैन । 

त्यसो त चन्द्र र विकासको मात्रै होइन । कुनेगाउँको पहिरो स्थलसँगै रहेका दलित समुदायका १२ घर बग्ने अवस्थामा छन् । पहिरोका कारण उक्त घरहरूको आँगन चिराचिरा परेका छन् । ठाडो, भिरालो जग्गामा बनेका ती घरहरूको माथिल्लो क्षेत्र बग्ने अवस्थामा छन् । सामान्य वर्षा भएमा उक्त घरहरू बग्न सक्ने भूगर्भविद्को भनाइ छ । हाल वर्षात रोकिएका कारण पीडितहरू धाँजा फाटेका आँगन छेउका घरमा बसिरहेका छन् । 

पानी नपर्दा हिउँदभर जोखिम मोलेर सोही घरमा बसे पनि वर्षायाममा उक्त घरहरू बग्ने निश्चित छ । १२ घरमा करिब ४० जना बढी सदस्य छन् । ती सबै सोही घरमा बस्ने गर्छन् । प्रभावित विकास रोक्काअनुसार सुरक्षित स्थानमा गएर बस्न मन छ । तर अन्यत्र काहीँ पनि सुरक्षित जग्गा नहुँदा ज्यान हत्केलामा राखेर बस्नु परेको उहाँको पनि पीडा छ । आफू जस्ता १२ घरपरिवार उच्च जोखिममा रहेपनि स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र सम्बन्धित निकायले बेवास्ता गरेको प्रभावितहरूको दुखसो छ ।

बिहानी समयमा घरमाथिबाट आएको पहिरोले एकै छप्कमा चित्रबहादुर मिजार, अजय बिसुंखे, अज्य बिसुंखेको घर सल्लक्कै बगायो । ती घरमा बसिरहेका चित्रबहादुर मिजार, उहाँकी धर्मपत्नी ठुलीकान्छी मिजार, अविनाश नेपाली, पाँच वर्षीय अविरल नेपालीलाई घरसहित बगायो । त्यसमध्ये चित्रबहादुर अविनाशको शव फेला परेपनि बालक र ठूलीकान्छी अझै पहिरोमै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काले बताउनुभएको छ । 

असोज ११ र १२ गतेको वर्षातका कारण सिन्धुपाल्चोकमा १० जनाको निधन भएको छ । त्यसमध्ये दुई जना अझै बेपत्ता अवस्थामा छन् । जुगलको कुनेगाउँ, लिसंखुपाखर गाउँपालिका–३, सुनकोशी गापा–४ मा पहिरोले घरसहित त्यस घरमा रहेकाहरूलाई पहिरोले बगाएको थियो ।