• ३ मंसिर २०८१, सोमबार

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

blog

पूर्व सभामुख स्वर्गीय दमननाथ ढुंगाना ।

गोरखापत्र अनलाइन

काठमाडौँ, मंसिर २ गते । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । 

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

यसैबिच, प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएकाले परिवारजनमा गहिरो समवेदना !’’