• ३ मंसिर २०८१, सोमबार

प्रतिस्पर्धामा मुख्य तीन दल

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर ३ गते । कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी रहेका छन् । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि यिनै तीन दलबिच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ । त्यसबाहेक कर्णालीमा नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलगायतको उपस्थिति छ । अघिल्लो स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने मुख्य तीन दलबाहेक अन्य दलको उपस्थिति निकै कमजोर छ ।

कर्णालीका आठ पदका लागि उपनिर्वाचन हुँदै छ । नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुन लागेको हो । जसमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

त्यसै गरी दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ । दलहरूले उम्मेदवार छनोटसँगै चुनावी प्रचारमा जुटिसकेका छन् । 

कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले चुनावी माहोल बनिसकेको बताउनुभयो । उहाँका अनुसार आठवटै स्थानमा कांग्रेसले मनोनयन दर्ता गराएको छ । यस्तै एमालेले पनि प्रदेशका आठवटै ठाउँमा आफ्नो उम्मेदवार उठाएको छ । पार्टी चुनावकेन्द्रित कार्यक्रममा लागिरहेको एमाले प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले बताउनुभयो । यता माओवादी केन्द्रले पनि आठवटै स्थानमा आफ्ना उम्मेदवार उठाएको छ ।

४२ हजारभन्दा बढी मतदाता

उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजारभन्दा बढी मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिक विवरण अनुसार कर्णाली प्रदेशका छ जिल्लाका आठ पदका लागि ४२ हजार २७७ जना मतदाताले मतदानमा भाग लिने भएका छन् । दैलेखको महाबु गाउँपालिकामा नौ वटा मतदान स्थल र १६ वटा निर्वाचन केन्द्रबाट १२ हजार ६१४ जना, दुई वटा मतदान स्थल रहेको दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि दुई हजार ७०६ जना, १६ वटा मतदान स्थल भएको जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदका लागि १६ हजार ४४९ जना र जाजरकोटकै कुसे गाउँपालिका वडा नं. ७ को वडाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा एक हजार ३०२ जनाले मतदानमा भाग लिने छन् ।  

यस्तै १२ वटा मतदान स्थल रहेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि उपनिर्वाचनमा छ हजार ८१० जना मतदाता, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा एक हजार ४३४ जना, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६०९ मतदाता, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षका लागि हुने उपनिर्वाचनमा ३५३ जना मतदाताले मतदानमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।