मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर ३ गते । प्रदेश लोक सेवा आयोगको विश्वसनीयता र गुणस्तरीयता कायम राख्न सबैको सहयोग र सहकार्य आवश्यक भएको औँल्याइएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको पाँचौ स्थापना दिवसका अवसरमा आइतबार प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले हेटौँडामा आयोजना गरेको कार्यक्रममा लोक सेवा आयोगको विश्वसनीयता र गुणस्तरीयता कायम राख्नु अहिलेको चुनौती भएको भन्दै कार्यक्रमका वक्ताले सबैको सहयोगमा मात्र आयोगको विश्वसनीयता कायम गर्न सकिने बताएका हुन् ।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार २०७६ मङ्सिर २ गते प्रदेश लोक सेवा आयोगका अध्यक्षको नियुक्तिसँगै सो दिनलाई बागमती प्रदेशमा प्रदेश लोक सेवा आयोगको स्थापना दिनका रूपमा मनाउँदै आइएको छ ।
कार्यक्रममा नेपालमा नागरिकले विश्वास गर्ने सीमित संस्थामध्येको एक लोक सेवा आयोग भएको चर्चा गर्दै यसलाई पारदर्शीसँगै सूचना प्रविधिको विकास र परिवर्तित समय अनुसार यसको कार्यसम्पादनमा सुधार गर्नुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नागरिकले प्रदेश लोक सेवा आयोगप्रति गरेको भरोसालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश लोक सेवा आयोगको कार्यसम्पादनमा देखिएका कानुनीलगायतका जटिलता फुकाउन आफूबाट प्रयास हुने भन्दै देश प्रादेशिक संरचनामा गएपछि सबै प्रदेशले बागमती प्रदेशलाई केन्द्रमा राखेर हेर्ने भएकाले सोही अनुसार जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक भएको बताउनुभयो । स्वच्छता, निस्पक्षता, वस्तुगतका गुणलाई आत्मसात् गरेर जनताको भरोसालाई प्रदेश लोक सेवा आयोगले कायम राख्दै आएको भन्दै प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, “जनताको भरोसालाई टुट्न बिल्कुल दिनुहुने छैन भन्ने अपेक्षा राख्दछु ।” कर्मचारी र भौतिक पूर्वाधारको अभाव, समन्वयको कमी, सिफारिसको कार्यान्वयनमा कताकति असहयोग जस्ता समस्याबाट आयोग पीडित रहेको छ ।”
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आयोगको कानुनीलगायतका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउँदै लोक सेवा आयोगको विश्वसनीयतालाई अझ उच्च बनाउनु आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले आयोगलाई नियन्त्रणमा राख्ने प्रदेश सरकारको मनसाय नभएको बताउँदै सरुवा बढुवा प्रभाव र दबाबको भरमा गर्ने प्रचलनको विपक्षमा कर्मचारीसमेत हुनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले युवाको सरकारी जागिरमा आकर्षण घट्दो रहेकाले यो खोजको विषय हुनुपर्ने भन्दै आयोगको साखलाई जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले कर्मचारी सरुवा र बढुवामा समेत लोक सेवा आयोगको भूमिका हुनुपर्ने धारणा राख्नुभयो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा आयोगको विश्वसनीयता जोगाउन अन्य क्षेत्रबाट हस्तक्षेत्र गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य शर्मिला नेउपानेले प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा दुई हजार ३७ पदका लागि आवेदन माग गरेकोमा आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल एक लाख सात हजार ४८७ जनाकोे अनलाइन दरखास्त परेको बताउनुभयो । उहाँले ९४ हजार पाँच जनाको दरखास्त स्वीकृत भएकोमा सबैभन्दा बढी दरखास्त सप्तरी, सर्लाही, रौतहट, धनुषा र महोत्तरी जिल्लाबाट परेको बताउनुभयो ।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, आयोगका प्रदेश सचिव तुलसीनाथ गौतमले संरचना र जनशक्ति अभावबिच प्रदेश लोक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।