काठमाडौँ, मङ्सिर ३ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
नेता खनालले जारी गर्नुभएको विज्ञप्तिमा ढुङ्गानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गर्नुभएका ढुङ्गानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभयो ।
उहाँले वि.सं. २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गर्नुभएका ढुङ्गानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गर्नुभयो ।
ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ । रासस