• ८ मंसिर २०८१, शनिबार

रैथाने बालीमा व्यावसायिक बन्दै किसान

blog

तुलसिपुर १८ का किसान दामोदर बस्नेतले लगाएको रैथाने आलु ।

गोकर्ण पौडेल

तुलसिपुर, मङ्सिर २ गते । घरायसी प्रयोगमा उत्पादन गर्दै आएका किसानहरूले व्यावसायिक रूपमै उत्पादन सुरु गरेका छन् । सिम्ठारो र तिल्की धानमा परिचित हुँदै आएको दाङ जिल्लाका किसानहरूले पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि रैथाने अन्नबालीमा व्यावसायिकता दिन थालेका हुन् ।

यस वर्षमात्रै ११ क्विन्टल रैथाने आलुको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । त्यसै तिल्की धान उत्पादन सुरु गरेका छन् । मुक्त कम्लहरीद्वारा सञ्चालनमा ल्याइएको गन्यारी कृषि सहकारी संस्थामार्फत यस वर्षमात्रै एक सय मुरी तिल्की धान उत्पादन गरेको सहकारी संस्थाका लक्ष्मी चौधरीले बताउनुभयो ।  

प्रति क्विन्टल तिल्की धानको मूल्य सत्र हजार रूपिँया रहेको प्रवर्धन गर्दै आएको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो । रावतका अनुसार दाङ जिल्लाबाटै बिउँ लगेर सिरहाका एक किसानले २ बिगाहा क्षेत्रफलमा सिम्ठारो धानको खेती गर्नुभएको छ ।

सिम्ठारो धानको बजार मूल्य प्रति क्विन्टल सोह्र हजार रहेको छ । बिउँ पैँचो अभियानअन्तगत पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले किसानहरूलाई रैथाने आलु, सिम्ठारो,तिल्की, भाजीको बिउँ वितरण गर्दै आएको अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो ।