• ७ मंसिर २०८१, शुक्रबार

गरिबीको पीडा

blog

गरिबीको परिभाषा भिन्न भिन्न किसिमले गरिए पनि सामान्य नागरिकको जनजिब्रोमा भने जसलाई खान, लाउन र बस्नको अभाव हुन्छ त्यो मानिसलाई गरिब भनिन्छ । यस्तो मानिसको सङ्ख्या प्रतिशतको आधारमा लिने हो भने २०.२७ छ भने सङ्ख्याका आधारमा ६० लाखको हाराहारीमा भएको तथ्याङ्कले देखाउँछ । अझ कतिपय गैरसरकारी अनुसन्धान संस्थाहरूले त ३१ प्रतिशत पुगेकोे तथ्याङ्क दिएका छन् । तीन करोड पनि जनसङ्ख्या नभएको देशमा २० प्रतिशतभन्दा बढीको गरिबीको रेखामुनि जनसङ्ख्या हुनुलाई आर्थिक तथा सामाजिक दृष्किोणबाट राम्रो भन्न सकिँदैन । 

हामीलाई गरिबी के हो भनेर चिनाउनै पर्दैन । अरू कुरा नचिने पनि गरिबीलाई भने राम्रोसँग चिनेका छौँ । किनभने अधिकांश हामी गरिबीमा जन्मिएको छौँ । गरिबीमा हुर्किएका छौँ र गरिबीमा नै जीवन समाप्त गरेका छौँ । गरिबी भन्नेबित्तिकै हाम्रो अगाडि एउटा ठिङ्गो उभिएको मानव आकृति आएको हुन्छ । उसको टाउकोमा फाटेको टोपी हुन्छ अथवा त्यो पनि नहुन सक्छ । लाज छोप्ने एउटा बस्त्र हुन्छ । जुत्ता नदेखेका पैताला हुन्छन् । खान नपाएको दुब्लो, पातलो, खिराउटे अनुहार हुन्छ । गरिबीको निरासा र कुण्ठाले उसको अनुहार फुङ्ग देखिएको हुन्छ । गरिबीकै कारणले प्रत्येक नेपालीको शीरमा ८१ हजारभन्दा बढीको ऋणभार छ । बिहान बेलुकाको समस्या सुल्झाउन नसक्नेका लागि यति ठुलो ऋण बोक्नलेु निश्चय नै पीडा नै दिएको हुन्छ ।

गरिब भएकै कारणले गर्र्दा एउटा बच्चा विद्यालय जान सक्दैन । औषधी उपचारको सुविधा पाउन सक्दैन । शिक्षा नभएको कारणले गर्दा कुनै रोजगारी उसका लागि उपलब्ध हुँदैन । गाँस, बास र कपासकै लागि देश छोडेर भौँतारिँदै कहिले साउदी, कहिले कतार त कहिले मलेसिया जानु उसको बाध्यता छ । यसो हुनुमा गरिबी हुनुसिवाय अरू केही कारण होइन ।

राज्यले गरिबी घटाउन जति नै प्रयास गरे पनि जनताको जीवनस्तर भने माथि उठ्न सकेको छैन । बिहान बेलुकीको छाट टार्न भए पनि मानिस ५० डिग्रीको तापक्रममा काम गर्न खाडी मुलुक गएका छन् । उनीहरूले पठाएको सानोतिनो रकमले घर परिवार धानिएको छ । भनिन्छ, देशको अर्थतन्त्र नै विप्रेषणले धानिएको छ । 

नेपालको गरिबी घटाउन विप्रेषणको ठुलो योगदान छ । विप्रेषणबाट प्राप्त भएको पैसा पनि उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिएको छैन । यसरी प्राप्त भएको रकम ६८ प्रतिशत त उपभोगमा नै खर्च भएको छ । बाँकी ३२ प्रतिशत पनि अतिरिक्त आय हुने क्षेत्रमा प्रवाह हुन सकिरहेको छैन । लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिने अवस्था हुँदाहुँदै पनि लगानी गर्न नसकिएको कारण गरिबी निवारणसम्बन्धी कार्यले सफलता प्राप्त गर्न नसकिरहेको अवस्था छ । 

प्रत्येक दिन वैदेशिक रोजगारीका लागि विदेश जानेहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानेको सङ्ख्या सरकारी आँकडा नै २५ सयको हाराहारीमा छ । यसबाट अनुमान गर्न सकिन्छ गरिबीको पीडा । हामी गरिब भएकै कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा यति सस्तो श्रम बिक्री गरेका छौँ कि सालाखाला प्रत्येक श्रमिकले पाउने पारिश्रमिक मासिक १५ हजारभन्दा बढी नभएको अध्ययनले देखाएको छ । चाडपर्व मनाउन भारतबाट स्वदेश भित्रिएको सङ्ख्याले देशको गरिबी चित्रण गरेको छ । लवाइखुवाइले पनि उनीहरूको आर्थिक स्तर अनुमान गर्न सकिन्छ । झोला, कुम्लाकुम्ली र बालबच्चाको अवस्थाले सबैको मन दुःखेको हुन्छ । उनीहरूको मात्र यस्तो अवस्था होइन खाडी मुलुक जानेहरूको पनि उस्तै कष्टकर जीवन देखिन्छ ।

सरकारले गरिबी घटाउन प्रयास नगरेको पनि होइन । गरिबी न्यूनीकरण गर्ने काम कुनै एक मन्त्रालयको मात्र नभई सबै मन्त्रालय र अन्य निकायको पनि हो । त्यसैले यिनीहरू सबैको समन्वयमा गरिबी घटाउने कार्य गर्न उपयुक्त भएकाले केन्द्रीय सङ्गठनका रूपमा गरिबी निवारण मन्त्रालय गठन भएको देखिन्छ । यसरी नै सहकारी मन्त्रालय तथा महिला विकास मन्त्रालय पनि गठन भएका छन् । 

नेपालमा भएको गरिबीलाई लिएर विभिन्न मित्र राष्ट्र पनि चिन्तित भएको अवस्था छ । गरिबी घटाउनकै लागि भनेर विभिन्न किसिमका कार्यक्रमसहित अनुदान पनि उपलब्ध गराइआएका छन् । न्यूनतम ब्याजमा लामो समयमा साँवा ब्याज भुक्तानी गर्ने गरी सहुलियती ऋण पनि दिई नै रहेका छन् । यसरी दिएको ऋण कतिपय देशले अनुदानमा पनि परिणत गरी दिएका छन् । यति ठुलो रकम राज्यले तिर्नु नपर्ने पनि भएको छ । कतिपय सहयोगी देशले आफैँ आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेका पनि छन् । आन्तरिक स्रोतबाट पनि सरकारले राजस्वबाट विकास निर्माण कार्य सञ्चालन गर्न स्रोतको व्यवस्था गर्छ । यसरी विभिन्न आन्तरिक र बाह्य स्रोतको व्यवस्थापनबाट गरिबी घटाउने प्रयास भई आए पनि अपेक्षित रूपमा गरिबी घट्न सकेको छैन ।

गरिबी घटाउनका लागि प्रत्येक वर्ष ल्याइने बजेटमा विभिन्न कार्यक्रम पनि सञ्चालनमा ल्याइएका छन् । त्यस्ता कार्यक्रम कतिले सफलता प्राप्त गर्न सके भने कतिपय कार्यक्रमले अपेक्षित उपलब्धि दिन नसकेको अवस्था छ । विकास नगरी जनताको जीवनस्तर माथि उकास्न नसकिने भएकाले विभिन्न प्रकारका प्राविधिक शिक्षा, रोजगारी, निब्र्याजी ऋण, अनुदान, स्टार्टअप आदि कार्यक्रम पनि सञ्चालनमा नल्याइएको होइन । गरिबी निवारण कोष, गरिबसँग विश्वेश्वरप्रसाद, सामाजिक सुरक्षा, जनता आवास, विभिन्न वर्गको उत्थानका लागि लक्षित कार्यक्रम पनि सञ्चालनमा छन् । लघुवित्त, सुलभ कर्जा, सहकारी, उपभोक्ता समूह जस्ता कार्यक्रमबाट गरिबी घटाउने प्रयास गरिए पनि अपेक्षित प्रगति भएको देखिँदैन ।

विश्व बैङ्कको परिभाषा अनुसार दैनिक १.९ अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको रेखामुनि मानेको छ । यो आफैँमा मानवीय आवश्यकता परिपूर्तिका लागि पर्याप्त छैन । त्यसमा पनि यो मानक दक्षिणी गोलार्धका लागि हो र उत्तरी गोलार्धमा बस्नेहरूका लागि भने दैनिक अमेरिकी १५ डलर निर्धारण गरिएको छ ।

गरिबी निवारणका लागि सहयोग पुग्ने गरी थुप्रै कार्यक्रम सञ्चालन भई आएका देखिन्छन् । अझ योजनाबद्ध रूपमा विकासको थालनी भएको २०१३ सालदेखि नै विभिन्न आवधिक योजनामा गरिबी घटाउने भनी उद्देश्य राखिएको छ । यद्यपि, गरिबी घटाउन सकिएको छैन । धेरै कार्यक्रम, धेरै लगानी र लामो अवधिसम्म प्रयासरत हुँदा केही प्रगति भएको जस्तो देखिए पनि सन्तुष्ट हुन सक्ने अवस्था भने छैन । सहर बजारमा गरिबी घटेको जस्तो देखिए पनि देशको विभिन्न भौगोलिक स्थानामा नाङ्गो आँखाले हेर्ने हो भने भुँइमान्छेको दैनिकी कहाली लाग्दो नै छ । गरिबी निवारणसम्बन्धी जति नै कार्यक्रम सञ्चालन गरिने हुन् ती सबै भुँइमान्छेलाई केन्द्रविन्दु बनाउनु पर्छ । अन्यथा बालुवामा पानी खन्याएसरह हुन जाने छ ।

गरिबी यस्तो अवयव रहेछ यो विकसित मुलुकमा पनि देखिएकै हुन्छ । नेपाल जस्ता अल्पविकसित देशमा डरलाग्दो रूपमा देखिन्छ भने विकसित देशमा न्यून मात्रामा देखिन्छ । अमेरिका जस्तो विकसित देशमा पनि गरिबी देखिन्छ । त्यहाँ पनि सडकका छेउछाउमा मानिस सुतेकै हुन्छन् । कतिपयको आफ्नो घर नभएकाले दिनभरि काम गर्ने रातमा भने गाडीमा सुत्ने खबर पनि पढ्न पाइन्छन् । गरिबीको कुनै भूगोल र सीमा हुँदैन । यो यत्र तत्र छरिएको हुन्छ र मात्रामा मात्र फरक पर्दो रहेछ । 

केही वर्षअघि अफ्रिकाको कुनै देशमा हाडछाला मात्र देखिने एउटा बालक खुला आकाशमुनि सुतिरहेको थियो । त्यो बच्चाको शरीरमा एक टुक्रा मासु र एक थोपा रगत पनि देखिएको थिएन । केवल बच्चा हो भन्ने आकार मात्र थियो । उसको सास मात्र जान बाँकी रहेको थियो । पल्लो छेउमा एउटा गिद्धले त्यो बच्चा कहिले मर्ला र खान पाउँला भनेर ढुकिरहेको थियो । हाम्रो देशमा त्यस्तो अवस्था नभए पनि गरिबीले भने पिरोलेकै अवस्था छ । वित्तीय स्रोतसाधन अधिकतम लगानी गर्दा पनि किन गरिबी घटाउन नसकिएको सन्दर्भमा सबैको चिन्ता र चासो रहनु स्वाभाविकै हुन आउँछ ।

पैसा नभएकाले मानिस गरिब भएको हो । हामीसँग पुँजी छैन । पुँजी नभएपछि लगानी गर्न सकिँदैन । लगानी नभएपछि आम्दानी हुँदैन । आम्दानी नभएपछि बचत पनि नहुने नै भयो । बचत नै नभएपछि पुँजी र लगानीको वातावरण नै सिर्जना हुँदैन । यसरी निस्किएको गरिबीको दुष्चक्रलाई तोड्न नसकिएको कारण हामी गरिब भएका हौँ । त्यस कारण यो गरिबीको दुष्चक्र तोड्न सक्नु नै गरिबी निवारणको ठुलो उपलब्धि हुने छ । 

Author

कृष्णमणि पराजुली