• ७ मंसिर २०८१, शुक्रबार

खाइतुको ‘इन्द्रिय रङ्गहरू’

blog

भक्तपुर समाचारदाता

भक्तपुर, मङ्सिर २ गते । शिक्षाका अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’ (आत्मकथा) कृति, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ । प्राडा चैतन्य मिश्रले ‘इन्द्रिय रङ्गहरू’, प्राध्यापक मधुसूदन सुवेदी र  प्रदीप क्षेत्रीले पाठशाला बोलको म्युजिक भिडियो र गुरु वन्दना गीतको लोकार्पण गर्नुभएको हो । गुरु वन्दना गीत जितेन्द्र रसिकले गाउनुभएको छ भने सङ्गीत राज सागरको रहेको छ । त्यस्तै आहाना खाइतुले गाउनुभएको पाठशाला शीर्षकको गीतमा जितेन्द्र रसिकले सङ्गीत भर्नुभएको छ ।

प्राडा चैतन्य मिश्रले कृति समयको दस्ताबेज भएको बताउनुभयो । कृतिबारे लेखक खाइतुसँग जितेन्द्र रसिकले अन्तरसंवाद गर्नुभएको थियो । सरस पाठशालाले प्रकाशन गरेको पुस्तकमा राजनीतिक परिवर्तनले नेपाली शिक्षा क्षेत्रमा पारेका प्रभाव र वर्तमान शिक्षा पद्धतिबारे चित्रण गरिएको छ भने यस क्षेत्रका समस्या, सम्भावना र अवसर औँल्याइएको छ ।