• १ मंसिर २०८१, शनिबार

नेपाली साहित्यकारको टोली नेपाल फर्कियो

blog

काठमाडौं, मङ्सिर १ गते । भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) को ६५ औँ वार्षिक महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली नेपाल फर्किएको छ ।

सो टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, त्रिवि नेपाली विभागका सहप्राध्यापक डा नेत्र एटम, दि राइजिङ नेपालका नायब कार्यकारी सम्पादक ऋतराज सुवेदी, मनमोहन प्राविधिक विश्वविद्यालयका मुख्य लेक्चरर सविता गौतम दाहाल, कवि चन्द्र गुरुङ, अभय श्रेष्ठ तथा डा नाज सिंह संलग्न हुनुहुन्थ्यो । 

साहित्य महोत्सवको नारा ‘हाम्रो लोपोन्मुख ग्रह, हाम्रो एक मात्र घर, घाइते संसारलाई निको पारौं’ भन्ने थियो । 

भारतीय साहित्यकी मूर्धन्य साहित्यकार अजीत कौरले सो महोत्सव गत ६५ वर्षदेखि निरन्तररूपमा वर्षैपिच्छे सञ्चालन गर्दै आउनु भएको छ । उमेरले ९० वर्ष पुगिसक्नु भएकी अजीत कौर आख्यान साहित्यकी बेजोड प्रतिभा भएकीले भारत सरकारले उहाँलाई पद्मश्री सम्मानबाट वर्षौँ पहिले नै विभूषित गरिसकेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै अजितले भन्नु भयो, “हिमालयका हिमनदीहरू घट्दै जाँदा, समुद्रको सतह बढ्दै जाँदा र परम्परागत बाक्लो जङ्गल जमिनमा सुख्खा बढी देखिन थालेपछि सार्क क्षेत्रका कलम चलाउनेहरूले यसलाई आफ्नो प्राथमिक सरोकार बनाउनु उपयुक्त हुन्छ।’’ 


कार्तिक २५ देखि २८ सम्म आयोजित महोत्सवमा कवि विधान आचार्यलाई सार्क प्रभावेचर अवार्डबाट सम्मानित गरिएको थियो । 

महोत्सवमा विधान आचार्यले साहित्यको पर्यावरण पत्र प्रस्तुत गर्नुभयो । यसैगरी, पत्रकार  ऋतुराज सुवेदीले  ‘बीपी कोइरालाको उपन्यास मोदी आइन’  र अभि सुवेदीको नाटक ‘सान्दाजुको भारत’ माथि समालोकीय चर्चा गर्नुभयाे । महोत्सवमा कवि डा नेत्र एटम, अभय श्रेष्ठ, सविता गौतम दाहाल र नाज सिंहले आफ्ना कविता र कथाहरू वाचन गर्नुभएको थियो । 

सोही अवसरमा सविता गौतम दाहालको पिरामिड अफ लेक्सिकल रिपल्स कविता सङ्ग्रहको प्रमुख अतिथि संरक्षणवादी सन्त बलबीसिंह सिचेवाल, अजीत कौरलगायतले लोकार्पण गर्नुभयो ।