• ८ मंसिर २०८१, शनिबार

अवैध संरचना हटाउन प्रहरीको निर्देशन

blog

कावासोतीको फलफूल चोकमा रहेका अस्थायी संरचना हटाइँदै । तस्बिर : मिना कँडेल

मीना कंडेल
कावासोती, मङ्सिर १ गते । 
नवलपुरको कावासोती नगरपालिका-२ स्थित हाटबजारअन्तर्गत सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन थालिएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा विगत लामो समयदेखि फलफूल र किराना व्यवसाय सञ्चालन गरिएको थियो । कावासोती फलफूल चोक नामले परिचित त्यस ठाउँमा अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भएपछि अस्थायी टहरा हटाउन लागिएको प्रहरीले जनाएको छ ।

अत्याधुनिक पेट्रोल पम्प निर्माण कार्य सुरु भएपश्चात् उक्त क्षेत्रमा सञ्चालन भएका फलफूल, किराना पसल हटाउन सम्बन्धित व्यापारीलाई केही महिना अघि नै प्रहरीले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।

अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेसन, कफी सपसमेत रहने गरी निमार्ण कार्य भइरहेको उहाँले बताउनुभयो । दश करोड ८० लाखको लागतमा प्रहरी कल्याण कोषले पेट्रोल पम्पको निर्माण कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय र फलफूल चोकको नजिकमा सुरु भएको निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।

यता विगत ३० वर्षदेखि फलफूल व्यवसाय गर्दै आउनुभएका सिता भुर्तेलले आफूहरूलाई अन्य ठाउँ उपलब्ध गराउनुपर्ने बताउनुभयो । फलफूल व्यवसाय गरेर नै छोराछोरीको शिक्षादीक्षा दिइरहेको र आफ्नो जीविकोपार्जन गर्ने ठाउँ नहुँदा समस्या हुने उहाँको भनाइ छ ।

त्यस्तै, स्थानीय दिनेश गौडेलले अहिले अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भनेर आफ्नो व्यवसाय हटाइएको भए पनि आधुनिक भवन बनाएर आफूहरूले त्यस ठाउँमा नै व्यापार गर्न पाउनुपर्ने व्यापारीको माग रहेको बताउनुभयो ।