• १० मंसिर २०८१, सोमबार

घट्यो ब्याजदर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । वाणिज्य बैङ्कहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाएका छन् । कात्तिकमा बैङ्कको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकामा मङ्सिरमा घटेर ५.९६ प्रतिशत भएको छ । 

बैङ्कहरूमा लगानीयोग्य रकम पर्याप्त हुनु तर कर्जा प्रवाह सो अनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैङ्कहरूले निक्षेपमा ब्याजदर घटाएका हुन् । 

२० वटा वाणिज्य बैङ्कमध्ये मङ्सिरका लागि नौ वटा वाणिज्य बैङ्कले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । एउटा बैङ्कले ब्याजदर बढाएको छ भने बाँकीको स्थिर छ । ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैङ्क छ ।

ब्याजदर घटाउने बैङ्कहरूमा नबिल, माछापुच्छ«े, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैङ्क छन् । ब्याजदर स्थिर राख्नेमा नेपाल एसबिआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु बैङ्क, हिमालयन र एभरेस्ट बैङ्क छन् । 

मङ्सिरका लागि हिमालयन बैङ्कले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिने छ । यस्तै एभरेस्ट बैङ्कले छ प्रतिशत, प्रभु बैङ्कले ६.१ प्रतिशत, नेपाल बैङ्कले ५.९५, सिद्धार्थ बैङ्कले छ, नेपाल एसबिआईले छ, सानिमा बैङ्कले ६.१५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ६.५ प्रतिशत यथावत् राखेका हुन् । 

राष्ट्रिय वाणिज्य बैङ्कले ब्याजदर ५.८ प्रतिशतबाट बढाएर छ प्रतिशत बनाएको छ । नयाँ ब्याजदर अनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैङ्क एनआइसी एसिया बनेको छ । एनआइसीले अधिकतम ६.७९ प्रतिशत ब्याज दिने छ । सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइन बैङ्कको ५.५० प्रतिशत रहेको छ ।