• ७ मंसिर २०८१, शुक्रबार

चिच्याएर वर माग्न भक्तजनको भिड

blog

वर माग्न सत्यवती मन्दिर पुगेका भक्तजनहरु । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, कात्तिक ३० गते । चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको भिड लागेको छ । चार दिन अघिदेखि लागेको वर माग्ने मेलामा सहकारी हुन लाखौँ भक्तजन सत्यवती पुगेका छन् । 

जिल्लाको तिनाउ गाउँपालिका –४, स्थित सत्यवतीमा रहेको मन्दिरको दर्शन गर्न र ताल वरिपरि घुमेर चिच्याएर वर माग्न दुई लाख बढी भक्तजन त्यहाँ पुगेको स्थानीयले बताएका छन् । 

परापूर्वकालमा सत्यवती बज्यै सत्यको खोजीमा त्यस स्थानमा आइ तपस्या गरेको र शक्ति आर्जन गरेको जनविश्वास छ । शक्तिकी देवी सत्यवती बज्यैलाई आफूले चिताएको वर चिच्याएर मागे बज्यैले पूरा गरिदिने जनविश्वास रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 

कात्तिक २७ गतेदेखि लागेको वर माग्ने मेलामा अहिलेसम्म दुई लाख बढी भक्तजन मन्दिरमा आइसकेको उहाँले जानकारी दिनुभयो । अहिले पनि भारतलगायत नेपालका विभिन्न स्थानबाट भक्तजन आउनेक्रम जारी रहेको अध्यक्ष गाहाले बताउनुभयो ।  

वर माग्ने मेलामा भक्तजनले निगालोको लिङ्गो लिएर रातको समयमा ताल छेउमा गाड्ने र भोलिपल्ट सोही लिङ्गो चिनेर पूजा गर्छन् । यस्तै, ताल वरपर भक्तजन तीन पटक घुमेर वर माग्ने गरेका छन् । 

यहाँ हरेक वर्ष तिहार पर्व पछिको पूर्णिमामा ठूलो मेला लाग्ने गरेको छ । यस पटक भक्तजनको सङ्ख्या अत्यधिक भएकाले यातायात व्यवस्थापन र पूजा व्यवस्थापनमा समस्या देखिएको थियो । भक्तजनले एकतर्फी सवारीसाधन चल्ने सडकमा ट्राफिक जाम भएर सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् ।