• ७ मंसिर २०८१, शुक्रबार

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

blog

तस्बिर : रासस

काठमाडौँ, कात्तिक ३० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”

उहाँले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबिच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो ।

बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई उहाँले धन्यवाद दिनुभयो । उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उहाँको भनाइ थियो ।ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताउनुभयो ।

नेपाल–भारत र बङ्गलादेशबिच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भइ भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो । आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताउनुभयो । उहाँले नेपालका विभिन्न जलविद्युत् परियोजनामा भारतले लगानी गरेको बताउँदै उक्त परियोजना सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । हरित ऊर्जाको दिगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताउनुभयो । यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दीिगो विकासलाई सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले कार्वन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युतले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एसियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताउनुभयो ।

सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बङ्गलादेशको भेरमारासम्म पु(याइनेछ । यो यामका लागि आज एक दिन मात्र बिजुली निर्यात हुनेछ  ।

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढु्ङ्गाना, ऊर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागिता  थियो । रासस