• ७ मंसिर २०८१, शुक्रबार

काँग्रेस–एमालेप्रति नै जनताको विश्वास र भरोसा : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ३० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले नेपाली काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीका तर्फबाट आगामी मङ्सिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले प्रमुख दलहरुप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पार्नुभयो । नेपाली जनताले प्रमुख दलहरुबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहोर्‍याउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला कमिटीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामै आयोजना हुने कार्यक्रमको माध्यमबाट सन्देश दिन चाहन्छौं, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन । र उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले सभाको आयोजना गर्न खोजेका छौं ।’’

महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ कांग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताउनुभयो । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उहाँको स्पष्टीकरण थियो ।