• ७ मंसिर २०८१, शुक्रबार

सभापति देउवाद्वारा असिउ देउताको पूजा

blog

२५ वर्षपछि असिउ देवता मन्दिर पुग्नुभएका काँग्रेस सभापति शेरबहादुर देउवा । तस्बिरः पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, कात्तिक ३० गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको मन्दिर असिग्राम असिउमा पुगेर दर्शन गर्नुभएको छ । 

देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा अवस्थित असिग्रामको शुक्रबार दर्शन गर्नुभएको हो । असियु मन्दिरमा बिहीबार राति पूजाआजा गरी मेला लागेको थियो । असिउ मन्दिरमा भदौ र कात्तिक महिनाको चतुर्दशी तिथिमा पूजाआजा हुन्छ ।  

असिउ देवतालाई वडा १, गाउँका शक्तिशाली देवताका रुपमा पूजाआजा गरिन्छ । पुर्खादेखि धार्मिक सांस्कृतिक परम्पराअनुसार असिउ देवताको पूजाआजा हुँदैआएको छ । सभापति देउवाले भन्नुभयो, ‘असिउ देवताको कृपा आशीर्वादले म प्रधानमन्त्रीसम्म बनेँ । 

देवताको पूजाआजा दर्शनले आशीर्वाद पाइन्छ । देशमा दिगो शान्तिको कामना गरी मन्दिरमा पूजा गरेको उहाँले बताउनुभयो । असिउ देवतालाई आसिग्राम र मणिलेकका नामले पुकार गरिने उहाँले जानकारी दिनुभयो । 

सभापति देउवा शनिबार प्रसिद्ध उग्रतारा भगवती मन्दिरको मेला (देहिजाँत) मा सरिक हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवासँगै देउवा पत्नी एवं पराराष्ट्र मन्त्री डा. आरजु राणा पनि मेलामा सरिक हुने उहाँले बताउनुभयो । मन्त्री राणा पहिलो पटक उग्रतारा मेलामा सरिक हुन लागेको उहाँले बताउनुभयो । उहाँ शुक्रबार बेलुकी डडेल्धुरा पुग्ने जानकारी दिनुभयो ।