• १० मंसिर २०८१, सोमबार

उपनिर्वाचन : मोरङको ग्रामथानमा निर्वाचन कार्यालय स्थापना

blog

शुक्रबार मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
विराटनगर, कात्तिक ३० गते ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।  

निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म गरी त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरी माथि छानबिन मङ्सिर ४ गते गरिने छ ।

उजुरीमाथिको छानबिन पछि उम्मेदवारको  नामावली  सोही दिन प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत भट्टराईको भनाइ छ । 

कार्यालय उद्घाटनको क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख तथा दलका प्रतिनिधिहरूसमेतको सहभागिता रहेको थियो ।

यसैबिच, उपनिर्वाचनका लागि ग्रामथानमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले उम्मेदवार घोषणा गरेर घरदैलो अभियान र गाउँसभा गर्न थालेका छन् ।

थारू बाहुल्य रहेको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा सबै ठुला दलहरूले थारू समुदायबाटै उम्मेदवार चयन गरेका छन् । नेपाली कांग्रेसले पूर्वमहासमिति सदस्य बलराम सरदारलाई, एमालेले तुलसी विश्वासलाई, माओवादी केन्द्रले नमोनारायण माझी र राप्रपाले दिनेश थानदारलाई अध्यक्षको उम्मेदवार घोषणा गरेका छन् । ग्रामथान गाउपालिकामा २६ हजार नौ सय मतदाता छन् ।