• ७ मंसिर २०८१, शुक्रबार

रामघाट मेलामा भक्तजनको घुइँचो

blog

कपिलवस्तुको वाणगंगा नदीको रामघाटमा मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), कात्तिक ३० गते। कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। शुक्रबार वाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार रातिदेखि हजारौँ भक्तजन उपस्थित भएका हुन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।

रामघाटमा भारतका विभिन्न क्षेत्रसँगै नेपालका छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची लगायतका स्थानका श्रद्धालु आएका छन्। त्रेतायुगमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्बदन्ती छ। रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाका बताउँछन्।

कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन्। गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलवस्तु नगरपालिका–४ का गणेशप्रसाद पाण्डेयले बताउनुभयो।


वाणगङ्गाको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा मङ्गलबार लागेको मेलामा ठुलो सङ्ख्यामा श्रद्धालु आएका थिए।  मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन्। सो अवसरमा जिल्लाको कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगर नगरपालिका, मायादेवी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।