• ७ मंसिर २०८१, शुक्रबार

गौरीशङ्करको विकास एमालेले नै गर्छ : पूर्वमन्त्री गुरुङ

blog

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विरः सन्तोष खड्का

दोलखा, कात्तिक ३० गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ । 

नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चको छैटाैं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले दोलखाली जनताले अपेक्षा गरेअनुरुपको विकास गर्न एमाले मात्र सक्षम रहेको बताउनुभयो । 

अहिलेसम्म जिल्लामा जेजति विकासका काम भएका छन् ती सबैको नेतृत्व नेकपा एमालेबाटै हुँदै आएको चर्चा गर्नुहुँदै उहाँले आगामी दिनमा पनि एमालेकै नेतृत्वले दोलखालाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । 

पूर्वमन्त्री गुरुङले भन्नुभयो, ‘दोलखालाई समृद्ध बनाउन अझै धेरै काम गर्नुपर्नेछ । त्यसका लागि जिल्लाबाट सङ्घ र प्रदेशमा एमालेको प्रतिनिधित्व र सबै पालिका तथा वडामा एमालेको नेतृत्व अनिवार्य छ । त्यसका लागि सन्निकट रहेको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचन एमालेले जित्नु जरुरी छ ।’

नेकपा (माओवादी केन्द्र) का नेताहरू स्थानीय, प्रदेश र सङ्घको नेतृत्वमा पुग्दा विकास गरेजस्तो देखाएर व्यापक कमिसन खाएको आरोप पूर्वमन्त्री गुरुङको छ । विकासका नाममा कमिसनको जालो फिजाउने पार्टी र त्यसको नेतृत्वबाट दोलखाली जनतामा समृद्धि नआउने उहाँले बताउनुभयो । 

‘दोलखामा माओवादीले विकासको नाममा कमिसनको व्यापक चलखेल गरेको छ । त्यस्तो पार्टीबाट दोलखाली जनता सुरक्षित छैनन्’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘२०६४ सालमा माओवादीले जितेको थियो जिल्लाको विकास कति गरेको छ, के–के गरेको छ हामीले देखेकै छौँ, जनताले हेरेकै छन् ।’ 


दोलखामा स्थापित सबै राजनीतिक दल भन्दा स्वाभिमानी र नैतिक बल उच्च भएको पार्टी एमाले मात्रै भएको बताउनुहुँदै उहाँले दोलखामा अपुग विकास एमालेकै नेतृत्वले गर्ने र विकास एउटा निरन्तर प्रक्रिया भएको बताउनुभयो । मंसिर १६ गते गौरीशंकर गाउँपालिका लगायत स्थानीय तहमा हुने निर्वाचन एमालेले नै जित्नुपर्ने उहाँको भनाइ छ । एमाले प्रचारभन्दा काममा विश्वास गर्ने पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो ।  

यस्तै, उहाँले नयाँ पार्टीले केही गर्छ भन्ने भ्रमसमेत चिरिएको पछिल्लो अवस्थामा एमाले रोज्नुको विकल्प नरहेको बताउनुभयो । लोकतन्त्र र गणतन्त्र ल्याउनु नै गलत भयो भन्ने भाष्य सिर्जना गरेर सामाजिक सञ्जालको सहारामा नेता बनेकाहरूको असली हविगत दिनप्रतिदिन उजागर हुँदै गएकाले मूलधारका पार्टीबाटै मुलुकको विकास र समृद्धि सम्भव रहेको स्पष्ट गर्नुभयो । 

यस्तै, उहाँले एमाले पार्टी बलियो रहेकै कारण अहिले चौतर्फी रुपमा प्रहार भइरहेको र पार्टीमाथि भइरहेको आक्रमणविरुद्ध आगामी मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गर्न लागिएको जानकारी बैठकलाई दिनुभयो । 

मञ्चका अध्यक्ष उमेश खड्काको नेतृत्वमा सम्पन्न बैठकमा नेताहरू सरस्वती बस्नेत, श्यामकुमार बस्नेत, सुरोजङ्ग पाण्डे, रामप्रसाद रिमाल, राम पाण्डे, सरोजमोहन लामा, अमृत खड्का, महाराज गुरुङ, डिल्ली बराइली, तीर्थ खड्का, गणेश शिवाकोटीलगायत सहभागी हुनुहुन्थ्यो । 

बैठकले मञ्चका अघिल्ला गतिविधिको समीक्षा गर्दै मङ्सिर १६ गते गौरीशङ्कर गाउँपालिकामा हुने उपनिर्वाचनमा सशक्त भूमिका निर्वाह गर्न विभिन्न निर्णय गरेको मञ्चका सचिव नारद खड्काले जानकारी दिनुभयो ।