• २६ मंसिर २०८१, बुधबार

मेडरी नाच संरक्षणमा थारू समुदाय

blog

कावासोती–१५ मा थारू समुदायका युवा मेडरी नाच देखाउँदै ।

मीना कँडेल 

कावासोती, कात्तिक २९ गते ।  हरिबोधिनी एकादशीको दिन प्रत्येक वर्ष मेडरी नाच देखाउने प्रचलन छ । महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठुलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । 

मध्यविन्दु–३ का मानबहादुर महत्तोले थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको बताउनुभयो । थारू समुदायको गहनाका रूपमा रहेको उहाँले भन्नुभयो, “दैवीशक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँतिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ । पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।” अहिलेको नयाँ पुस्ताले भने मेडरी नाचको महत्व बिसिँदै गएको उहाँको भनाइ छ । मध्यविन्दुबाट बाँसको लिङ्गो बनाई पूजाआराधाना गरी कावासोती–१५, गुन्द्रही मेलामा ल्याउने र आफूहरूले पनि मेडरी नाच नचाउने गरेको महतोले बताउनुभयो ।

यो नाचमा कम्तीमा एक सय र बढीमा १५० नचनिया गोलाकार रूपमा नाच्ने गरेको चिन्तामणि महत्तोले बताउनुभयो । मेडरी नाच कृष्णलीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ । महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर आफूहरूले पनि मेडरी नाच नचाउने गरेको उहाँले बताउनुभयो ।

मेडरी नाच नचनिया दुलामणि गुरौले जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्ने गरेको बताउनुहुन्छ । पहिले पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले चासो देखाउन छाडेकाले नाच हराउँदै जान थालेको गुरौले बताउनुभयो । थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवापुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको छ । थारू समुदायको लाठीनाच र झाम्टानाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती रहेको साथै युवामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको थारू अगुवा बताउँछन् । 

थारू समुदायको संस्कृति, वेशभूषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महìव झल्किने गरी अहिले लोप हुन लागेको मेडरी नाच, झाम्टा नाच र लाठीनाचप्रति संरक्षणका लागि अघि बढेको नारायण गुरौले बताउनुभयो ।