• ८ मंसिर २०८१, शनिबार

छ करोड भुक्तानी हुँदा पनि बनेन चार किलोमिटर सडक

blog

अलपत्र अवस्थामा रहेको मङ्गलगढी–शिवमन्दिर सडक । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, कात्तिक २९ गते । विगत पाँच वर्षदेखि निर्माण थालिएको दुई किलोमिटर चार सय मिटर सडकको कामका लागि छ करोड रुपियाँ भुक्तानी भए पनि सडक अझै पूरा हुन सकेको छैन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरकै सडकमा करोडौँ रकम खर्च भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । मङ्गलगढी–शिवमन्दिर सडकखण्ड बर्सौंदेखि अलपत्र परेको हो । मङ्गलगढी चोकदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने सडक विस्तार गर्न लागेको बर्सौं हुँदा पनि सरोकारवाला निकायले खास ध्यान दिन सकेको छैन ।  

आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको स्तरोन्नतिको काम अझै अधुरै छ । उक्त सडकखण्डमा सुरुमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माणको काम थालेको थियो । नाला निर्माणको काममा झन्डै दुई वर्ष समय लाग्यो । आर्थिक वर्ष २०७७/७८ देखि सोही सडकको निर्माण काम कर्णाली प्रदेश सरकारले अघि बढाएको छ । प्रदेश सरकारको १२ करोड ७७ लाख रुपियाँको लगानीमा सडक निर्माण थालिएको हो । 

हालसम्म कामको प्रगति भने निकै सुस्त छ । यसअघि एउटा निर्माण कम्पनीले काम बेवारिसे छोडेपछि ठेक्का तोडेर अर्कोलाई दिइएको हो । २०७८ देखि सडक स्तरोन्नतिको जिम्मा सिस्ने कन्स्ट्रक्सन निर्माण सेवाले लिएको छ । निर्माण व्यवसायीको लापर्बाहीकै कारण अहिले सडक विस्तारको काम रोकिएको छ ।

एकातर्फ सडक निर्माणको काम अधुरै छ भने अर्कोतर्फ सडक निर्माणको सम्झौता अवधि सकिएको छ । सडक निर्माणमा ठेकेदार कम्पनीले लापर्बाही गरेको छ । सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ साल मङ्सिर १४ मा अमर सिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । २०८० साल असार १५ सम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पहिलो पटक २०८० साल फागुन १५ सम्म काम सम्पन्न गर्ने गरी सम्झौता थप गरिएको थियो । सो कामका लागि १२ करोड ७७ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो । उक्त थपिएको मितिमा समेत काम हुन सकेन । अन्तिम पटक २०८१ असार १२ सम्म म्याद थपिएको थियो । अहिले उक्त म्यादको अवधि पनि सकिएको छ ।

कामको सम्झौता अवधि सकिए पनि सडक निर्माणको काम अधुरै छ । ठेकेदार कम्पनीको लापर्बाहीकै कारण तोकिएकै समयमा काम सम्पन्न हुन नसकेको निर्देशनालयले जनाएको छ । अहिले निर्माणको काम ठप्प रहेको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । उहाँका अनुसार निर्देशनालयले समयमै काम नसकिनुको कारण पेससहितको पत्र निर्माण कम्पनीलाई पठाउन लागिएको छ । नियम अनुसार अब म्याद थप गर्न मिल्दैन । हालसम्म निर्माण कम्पनीले करिब आठ करोड रुपियाँ बराबरको काम गरेको छ ।