• ७ मंसिर २०८१, शुक्रबार

बस्ती स्थानान्तरण गर्न स्थानीय तहको आग्रह

blog

बनेपा समाचारदाता 

बनेपा, कात्तिक २९ गते । असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा रहेका छ वटा स्थानीय तहले बस्ती स्थानान्तरणका लागि अनुरोध गरेका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये हालसम्म बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र पाँचखाल नगरपालिका रोसी गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सरकारसँग अनुरोध गरेका हुन् । 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै छ वटा स्थानीय तहले बस्ती स्थानान्तरण गर्नका लागि सरकारसँग अनुरोध गरेको जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर भूमिनन्द ढकालले बाढीपहिरोका कारण बस्न नहुने बस्ती स्थानान्तरणको विषयमा जानकारीसहित विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिए पनि हालसम्म छ वटा स्थानीय तहबाट विवरण प्राप्त भएको बताउनुभयो । 

खानीखोला गाउँपालिकाबाट पालिकाको वडा नं. ४ को याबुडाँडा, मझुवा, वडा नं. ५ को स्यार्तेपाखा, सिव्रmेदोभान, वडा नं. ६ को चनौटसहित पाँच, मण्डनदेउपुर नगरपालिकाले वडा नं. १० को चिनेसारा, नारिनखर्क, जमकोसी, माईटार, तीनधारा एकीकृत बस्ती, वडा नं. ११ को भाटपोल गैराथोक, मगरगाउँ, वडा नं. १२ को रामपुर, छाप, भतेरे, दोबाटा, काफलचौर र बिस्कुटेमा पहिरोको जोखिम रहेकाले बस्तीसहित १३ वटा बस्ती स्थानान्तरण गर्न अनुरोध गरिएको छ । यस्तै चौँरीदेउराली गाउँपालिका–४ को गोलेटोल, पन्तरेबारी टोल, वडा नं. ९ को खहरेखोला बस्ती, वडा नं. ६ को उपकात्तिके बस्ती, जखाडी बस्ती, आरुबोट, बलटार, बोक्से भिरकुना, बोकेचौर, ज्यामिरे सार्कीटोल, कात्तिके सिरानटोल चिप्लेटोल, कामीटोल, ओथारा बस्ती र दारिमबोटका २३ बस्ती स्थानान्तरण गर्न भनिएको छ । त्यस्तै वडा नं. ८ को केउरानी, ढाडटोल दलित बस्ती, थालडाँडा भुजेट टोल, आला टिब्रेनी, भोलुङ, पाटी गैरा, खहरे खोला बस्ती, सिमटोल पोटागैरा बस्तीसहित २३ वटा बस्ती स्थानान्तरणका लागि गाउँपालिकाबाट अनुरोध भएको भवन कार्यालयका प्रमुख ढकालले बताउनुभयो । 

बाढीपहिरोपछि पहिरोको जोखिम रहेको भन्दै पाँचखाल नगरपालिकाले वडा नं. ८ को भिरबारी, भँगेरी, पहरागरी, सिमखोला, सूर्यडाँडा, रातमाटे, झ्यालढुङ्गे, डाँडाबारी, डाँडाखर्क, वडा नं. ९ को लाखापुर, वडा नं. १२ को ठकुरी गाउँ र वडा नं. १३ को सल्लेरी भदौरेसहित १२ वटा बस्ती स्थानान्तरणका लागि प्रदेश सरकारसँग आग्रह गरेको छ । रोसी गाउँपालिकाले वडा नं. १ को फलामेसाँघु, वडा नं. २ को नारायणटार, वडा नं. ३ को मझुवा, भण्डारे, साँझकोट, सिहाले, राजवृक्ष, तल्लेटोल, वडा नं. ४ को थिङ्ग टोल, सिग्देल टोल, वडा नं. ५ को कंश, वडा नं. ८, ९ को नार्के, वडा नं. ९ को देउराली, वडा नं. १० को तारे, डाँडागाउँ र वडा नं. ११ को कालढुङ्गा, मेर्पा बस्तीसहित नौ वटा स्थानान्तरण गर्नुपर्ने जनाएको छ । यस्तै बेथानचोक गाउँपालिकाले बाढीपहिरोको जोखिम रहेको वडा नं. १ का छ वटा, वडा नं. २ को १२ वटा, वडा नं. ३ को १७ वटा, वडा नं. ४ का २१ वटा, वडा नं. ५ को २१ र वडा नं. ६ का १५ वटा बस्ती स्थानान्तरणका लागि सरकारसँग अनुरोध गरेको छ ।