• १९ पुस २०८१, शुक्रबार

बागमती प्रदेश सरकारलाई माओवादी केन्द्रको ज्ञापनपत्र

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलमा शालिकराम जम्कट्टेल र माओवादी केन्द्रका नेता। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, कात्तिक २८ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारको वर्तमान कामबाट जनता चरम निराशामा रहेको जनाएको छ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारले जनताको सेवा, प्रदेश विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्न नसकेको आरोप लगाएको छ।

मुख्यमन्त्री बहादुर सिं लामा तामाङ नेतृत्वको सरकारले सय दिनभित्र गरेका प्रमुख कार्यहरू सार्वजनिक गरेकै दिन प्रमुख विपक्षी दल माओवादी केन्द्रले यो अवधिमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएको हो। 

माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा सबैभन्दा ठुला दलको सरकार बनेपनि सरकारले जनताको सेवा, प्रदेश विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताउनुभयो।

उहाँले आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति ६.५ प्रतिशत मात्र हुनुले पनि सरकार आफ्नो काममा केन्द्रित छैन भन्ने स्पष्ट हुन्छ भन्दै सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भएर प्रदेश र प्रदेशवासी नागरिकको हितमा काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। 

प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरे लगत्तै मुख्यमन्त्री लामालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जनताले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारसँग सुशासनको अपेक्षा समेत गर्न सकिरहेका छैनन्।’ 

माओवादी केन्द्रका नेता गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा पुर्‍याएको धनजनको क्षतिका सम्बन्धमा प्रदेश सरकारले पुरा गर्नुपर्ने जिम्मेवारीका बारेमा भएको सर्वदलीय बैठकका निर्णय हुबहु अविलम्ब कार्यान्वयन गर्न माग गर्नुभयो।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई आफूहरूले सुझावको रुपमा लिएको र सरकारले बजेटको प्रभावकारी कार्यान्वयन सुरु भएको बताउनुभयो।