• २६ मंसिर २०८१, बुधबार

गाउँबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात

blog

तुलसीपुर –१९ छिल्लीकोटमा किसानले टिपेर सुकाएको सुगन्धकोकिला । तस्विरः गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, कात्तिक २८ गते । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान अचेल मालागेडी टिप्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि मङ्सिर महिनासम्म मालागेडी (सुगन्धकोकिला) सङ्कलन गर्दै आएका छन् ।

गत वर्षभन्दा यस वर्ष राम्रो फलेका कारण यस क्षेत्रका किसान खुसी देखिएका छन् । तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा व्यावसायिक रूपमै मालागेडीको खेती गर्दै आएका किसान परवीर पुनले यस वर्ष यस क्षेत्रबाट एकसय ५० क्विन्टल बढी मालागेडी निर्यात हुने बताउनुभयो । गत वर्ष समेत एकसय ३० क्विन्टल मालागेडी एउटै गाउँबाट निर्यात भएको थियो । 

छिल्लीकोटका धनबहादुर पुनले गत वर्ष मात्र यस क्षेत्रमा सबैभन्दा बढी ११ क्विन्टल अर्थात् चार लाख अठार हजार रुपियाँको मालागेडी बिक्री गर्नुभएको थियो । सात वर्षअघि १० हजार प्रतिक्विन्टल बिक्री हुँदैआएको मालागेडीको बजार मूल्य अहिले ३८ हजार प्रतिक्विन्टल रहेको किसान परवीर पुनले बताउनुभयो । 

सुगन्धकोकिला संरक्षण तथा संवर्धन समिति छिल्लीकोटका अध्यक्ष समेत रहेको पुनको समेत बारीका डिल र पाखाभरी मालागेडिका रुख छन् । त्यस क्षेत्रमा डिभिजन वन कार्यालय दाङले समेत प्रत्येक वर्ष मालागेडीका बिरुवा किसानलाई वितरण गर्दैआएको छ । त्यस क्षेत्रका किसानले करिब एक दशकदेखि नै संस्थागत सुगन्धकोकिला संरक्षण एवम् संवर्धन समिति गठन गरेर गाउँमा मालगेडी रोप्ने अभियान नै चलाएको किसान पूर्णबहादुर पुनले बताउनुभयो । 

छिल्लीकोटका अधिकांश किसानले मालागेडी आफ्ना जमिन, भीरपाखा साथै कालिका मालिका मन्दिर छेउछाउमा रोपण गरिएको थियो । मालागेडी केही औषधी तथा विभिन्न सुगन्धित तेल बनाउनका लागि प्रयोग गरिने बताइएको छ । केही वर्षअघि छिल्लीकोटका किसानले सुगन्धकोकिलाको धुपबत्ति समेत बनाएका थिए । तर बजारीकरण नभएका कारण किसानले उत्पादन गर्न छाडेका थिए । 

। मालागेडी नेपालको साबिक राप्ती अञ्चलको ६ सयदेखि १३६० मिटर उचाइसम्ममा फल्ने गर्दछ । नेपालसहित सिक्कम, भुटान र आसामको (मणिपुर) र खासीको पहाडमा पाइने गर्दछ । नेपालको दाङ जिल्लासहित रोल्पा, रुकुम, प्युठान र गोरखा जिल्लामा व्यावसायिक रुपमा खेती हुने गरेको यस बारेमा अनुसन्धान गरिरहेका प्रकाश गौतमले बताउनुभयो । 

अन्य जिल्लाभन्दा दाङ जिल्लाको सुगन्धकोकिलाको फलबाट बढी तेल निस्कने गरेको समेत गौतमले बताउनुभयो । यो बिरुवा रोपेको ५ देखि ७ वर्षभित्र फल दिने गर्दछ । मालागेडीको बिरुवाको दुईसय मिटरदेखि ३ केजिसम्म फल्ने गर्दछ । सुगन्धकोकिलाको मुख्य रुपमा फलसहित बोक्रा, काठ सबै उपयोगमा आउने गर्दछ । फल आयुर्वेदिक औषधीमा उपयोगमा आउने गर्दछ भने तेल अत्तर, सिन्के धूप, साबुनमा समेत उपयोग गरिन्छ ।