• ७ मंसिर २०८१, शुक्रबार

बाँकेमा कोदो उत्पादन गर्न परीक्षण

blog

बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीस्थित गाभर भ्यालीमा फलेको कोदो । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २७ गते । पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराको गर्मी मानिने बाँके जिल्लामा पनि उत्पादन गर्न सफल परीक्षण गरिएको छ।

सामुदायिक जिन बैङ्क सञ्जालले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित गाभर भ्यालीमा कोदोको सफल परीक्षण उत्पादन गरेको हो ।

गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराको गर्मी जिल्लामा पनि फलेको देख्दा स्थानीयले समेत अनौठो मानेका छन् ।

“पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराका जिल्लामा उत्पादन गर्ने लक्ष्यका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह भएको छ, स्थानीयले पनि अनौठो मान्ने गर्नुभएको छ,” सामुदायिक जिन बैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भन्नुभयो, “नौ प्रजातिका कोदोको बिउ रोपेका थियौँ, एक दुई प्रजाति बाहेक अन्य सबै राम्रोसँग फलेको छ ।”

स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको उहाँले बताउनुभयो । “स्थानीयको डेढ कट्ठा  जग्गा भाडामा लिएर कोदोको परीक्षण गरेका थियौँ, अहिले लहलह बाला लागेको छ, मङ्सिरको पहिलो सातातिर काट्ने योजना बनाएका छौँ, हामीलाई उत्साहित बनाएको छ, अब तरामा पनि कोदो उत्पादन गर्न सकिने देखिएको छ,” संयोजक बस्नेतले भन्नुभयो ।

बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले यो परीक्षपण गरेका थियौँ, मङ्सिर पहिलो साता उहाँहरु फिल्डमा आउने कुरा भएको छ, सोही समयमा यसलाई टिप्ने योजना बनाएका छौँ,” बस्नेतले भन्नुभयो, “नार्कका प्राविधिकहरुको सल्लाहमा तराका अन्य स्थानमा रोप्न मिल्ने गरी यसको बिउ सिफारिस गर्ने योजना बनाएका छौँ ।”

नार्कका प्राविधिकको सिफारिस अनुसार तराका जिल्लाहरुमा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उहाँका अनुसार रैथाने बालीको संरक्षणका लागि सुख्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको हो । 

२०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताउनुभयो । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफल भएको उहाँको भनाइ छ । 

जिन बैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ। सम्बन्धित रैथाने वस्तुलाई लोप हुनबाट जोगा संरक्षण गर्ने र त्यसमा आधारित स्थानीय रैथाने जाति प्रजातिसहित सम्बन्धितलाई व्यावसायिकता दिने कार्य गरिरहेको चौधरीले बताउनुभयो ।